मास्क बैंकद्वारा ५६ हजार बढी मास्क वितरण

कोभिडको संक्रमण बढ्दै गएपछि मास्कलगायत स्वास्थ्य सामाग्रीको चरम अभाव भएपछि बासले मास्क बैंक सञ्चालन गरी अभाव भएको ठाउँमा मास्क निःशुल्क उपलब्ध गराउँदै आएको हो ।

असल शासन प्रतिनिधि

नेपालगन्ज/ कोभिड प्रतिकार्यमा खटिरहेका र गाउँ–बस्तीमा रहेका नागरिकहरुलाई निःशुल्क मास्क उपलब्ध गराउने उद्देश्यले संचालित मास्क बैंकबाट ५६ हजार बढी मास्क वितरण गरिएको छ । कोभिडको संक्रमण बढ्दै गएपछि मास्कलगायत स्वास्थ्य सामाग्रीको चरम अभाव भएपछि बासले मास्क बैंक सञ्चालन गरी अभाव भएको ठाउँमा मास्क निःशुल्क उपलब्ध गराउँदै आएको हो ।

मास्क बैंक मार्फत कोभिड प्रतिकार्यमा खटिएका व्यक्ति, कोभिडविरुद्ध क्रियाशील संस्था तथा निकाय, पत्रकार तथा स्थानीय समुदायमा आम नागरिकहरुलाई मास्क वितरण गरिँदै आएकोे छ । डिसिसिएमसी बाँकेलाई २० हजार थान मास्क सहयोग हस्तान्तरण गरिएको छ । यसैगरी नेपालगन्ज स्थित निल सागर सेवाश्रम नेपालगन्ज, भेरी अस्पतालमा रहेको अन्जनी माता रसोई, नेपाल टेलिभिजन कोहलपुर, प्रेरणा पुनस्र्थापना केन्द्र, माया सदन बाल गृह पुरैनी, भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, जिल्लास्थित विभिन्न प्रहरी चौकी, नेपालगन्ज ४ मा सञ्चालित आइसोलेशन सेन्टर, नेपाल पत्रकार महासंघ बाँके, समाज सेवा संस्था कोहलपुर, कोभिड वार्डमा रहेका सबै बिरामी तथा कुरुवाहरुलाई मास्क वितरण गरिएको हो ।

यसैगरी संस्थाले कर्मचारी, स्वयम् सेवक परिचालन गरी बाँकेका आठ ओटै स्थानीय तह नेपालगन्ज उपमहानगरपालिकाका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका, राप्ती सोनारी गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका, बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकाका समुदायमा गई ३० हजार ५ सय बढी मास्क वितरण गरेको छ । समुदाय तहमा मास्क वितरण गर्दा मास्कको प्रयोग विधिका बारेमा समेत जानकारी गराइएको थियो ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणा र उपप्रमुख उमा थापा मगरले जेठ ३ गते उद्घाटन गरेको मास्क बैंकमा देश तथा विदेशमा रहेका नेपालीहरुले संस्थागत तथा व्यक्तिगत रूपमा स्वस्फूर्त सहयोग प्रदान गरिरहेका छन् । उक्त सहयोगबाट मास्क खरिद गरी निःशुल्क वितरण गरिँदै आएको छ । अभियान अन्तर्गत नै बासले डिसिसिएमसीलाई झण्डै ६ लाख रुपैयाँ बराबरको पिपिई, अक्सिमिटर, मास्क, सेनिटाइजर, ग्लप्सलगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिसकेको छ भने भेरी अस्पतालमा अक्सिजन रिफिलका लागि ९० हजार सहयोग हस्तान्तरण गरिसकेको छ ।

त्यसैगरी टिकापुर अस्पतालले २ सय पिपिई सहयोग गरिएको थियो । बासले भेरी अस्पतालमा आउने कोभिड संक्रमितलाई सहयोग गर्ने उद्देश्यले दुईजना कर्मचारी नियुक्त गरी नागरिक सहायता कक्ष (हेल्प डेस्क) सञ्चालन गरिरहेको छ । नेपालगन्ज उमपहानगरपालिका वडा नम्बर १८ मा होम आइसोलेशनमा रहेका २० जना कोभिड सक्रमितलाई अण्डा, मास्क, साबुनलगायतका खाद्य सामाग्री वितरण गरेको छ । यसरी आवश्यकता र मागको आधारमा मास्क बैंक मार्फत् मास्कलगायतका स्वास्थ्य सामाग्रीहरु वितरण गरिँदै छ ।

  • १४ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech