स्वास्थ्य सेवा घरदैलोमा प्रदान गर्दै होलेस्टिक

निरन्तर कोभिडका बिरामीहरुको सेवामा होलेस्टिक

साबित्री गिरी

नेपालगन्ज/ कोरोना भाइरसको दोस्रो भेरियन्ट सुरु भएसँगै अस्पतालहरु बिरामीले भरि भराउ भए । बेड र अक्सिजन अभावमा कतिपयको ज्यान समेत गयो । कतिको घरमै अस्पताल पुग्न नसक्दा दुःखद निधन भयो । कतिपयको अस्पताल लैजाने दौरानमा बाटोमानै मृत्यु भयो । यी सबै कोरोना कहरका प्रतिनिधिमूलक घटना हुन् ।

अझै कोरोना कहरबाट मृत्यु हुनेको संख्या घटेको छैन । यो बिषम परिस्थितिमा घरमै पुगेर स्वास्थ्य सेवा प्रबाह सबैका लागि आवश्यक थियो । सोही कुराको महसुस गर्दै कोरोना भाइरसको प्रथम लहर आए लगत्तै गत फाल्गुण १५ गते घरबाटै सेवा दिनुपर्छ भनेर नेपालगञ्जमा होलेस्टिक होम केयर सेन्टरको स्थापना भयो ।

घर, घरमैं पुगेर स्वास्थ्य सेवा दिनु निकै चुनौतीपूर्ण काम हो । त्यसमा पनि अस्पतालमा काम गर्ने र बाँकी समयमा समय तालिका अनुसार पालैपालो घरमा पुगेर कोरोना संक्रमित विरामीको उपचार गर्नु सहज थिएन ।

नेपालगन्जका विभिन्न अस्पतालमा कार्यरत स्वास्थयकर्मीहरुको समुहले शुरु गरेको होलेस्टिक होम केयर सेन्टरले कोरोना भाइरसबाट संक्रमित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, ६ र १८ का ३ हजार स्थानीयहरुलाई घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरेको होलेस्टिक होम केयरले अहिले पनि सेवा प्रवाह गरिरहेको छ ।

सेवालाई सहज बनाउन तथा विरामीको सुविधाका लागि चिकित्सकहरु असिम किदवाई, सुभास योगी, पारस श्रेष्ठ, शंकर केसी र खगेन्द्र जँग शाहले नियमित विरामीहरुलाई भेटघाट गर्ने र सेवा प्रवाह गर्ने काम गरेका छन् ।

नेपालगन्जमा मात्र नभइ खजुरा ,कोहलपुर र राँझाका बासिन्दाहरुले समेत सो केन्द्रबाट सेवा पाएका छन् । यो सेवालाई अझै विस्तार गर्ने तयारीमा रहेको सेन्टरकी सचिव सूमन गिरीले बताइन् ।

अक्सिजन सहित औषधी उपचार गरेर धेरै बिरामीहरुलाई निको बनाएपनि दुईजनाको गम्भिर अवस्थापछि मात्र खबर हुँदा निधन भएको गिरीले बताईन् । सचिव गिरीका अनुसार प्रतिघण्टा एक हजारका दरले सेवा शूल्क लिई घरमै सेवा प्रदान गरिएको हो ।

धेरै गम्भिर अवस्था भएका विरामीहरुलाई निको बनाउन सकेकोमा भने उनले खुसी व्यक्त गरिन् । होलेस्टिक होम केयरको टिममा सुरुमा ७ जना भएतापनि अहिले ४० जना पुगिसकेका छन् ।

यो अभियान अन्य समयमा पनि निरन्तर चलिरहने र कोहि रिफर गर्ने अवस्थाका विरामीको साथमा समेत आफूहरुले सँग, सँगै भएर सेवा दिने काम यो सेन्टरले गरिरहेको छ । यो सेवा आम नागरिकहरुले लिन सक्छन् ।

यसका लागि होलेस्टिक होम केयर सेन्टरलाई फोनमार्फत जानकारी गराउनुपर्दछ । सेन्टरले आम नागरिकहरुको सेवाका लागि ९८६८१४७३८९ नम्बरलाई सार्वजनिक गरेको छ । यस नम्बरमा फोन गरेर सेवा लिन सक्ने सेन्टरले जानकारी दिएको छ ।

  • १८ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech