६ प्रश्नमा माधवी शाह

असल शासन प्रतिनिधि

माधवी शाह, शिक्षिका/समाजसेवी
श्री सरस्वती मावि भंघोट्ना, बाँके

१. तपाइँको जीवनको आदर्श के हो ?
– स्वार्थ भन्दा माथिको मानवीय सेवालाई समय र परिस्थितिको माग अनुसार इमान्दारीतापूर्वक, जिम्मेवारीका साथ सेवा गर्नु नै मेरो आदर्श हो ।

२. कसको उत्प्रेरणाले तपाइँ यहाँसम्म आइपुग्नु भयो ?
–स्व.बुवा मुमाहजुरको संस्कार । अर्काको कुभलो कहिल्यै नचिताउनु, आफूले जानेर कसैको मन नदुखाउनु,सेवा गर्दा आफ्नो लाभदायक आशा नराख्नु, सधै निःस्वार्थ सेवामा रमाउनु आत्मसन्तुष्टि लिनु बाँकी सबै समयलाई जिम्मा दिनु यी सन्देश र आदरणीय मेरा अग्रज, सज्जनवृन्द, प्रतिष्ठित व्यक्तित्व ज्यू,आफन्ती, शुभचिन्तकको साथ, सहयोग, पृष्ठपोषण, सल्लाह सुझाव, उत्प्रेरणा, हौसलाले मलाई तीव्र इच्छा शक्ति साथ उत्प्रेरित गरी समय र परिस्थितिअनुसार मानवीय सेवा गर्न थप ऊर्जा मिलेको छ ।

३. तपाइँले समाजका लागि के गरिरहनु भएको छ ?
– समाजमा देखे–भोगेका सामाजिक, व्यक्तिगत पारिवारिक, आपतकालीन समस्यालाई आफ्नो क्षमता अनुसार सहजीकरण गर्दै आएकी छु ।
४. तपाइँको जीवनको अविस्मरणीय क्षण ?
– मेरो बिर्सिनै नसकिने अवस्मरणीय क्षण त थुप्रै छन् तर मेरो बाल्यकालदेखि नै देब्रे हातले सबै काम गर्दथे मेरो स्व.बुवाहजुर र मेरो दाज्यूले म खाना खाने समय र पढ्न बसेको समयमा सधैँ लठ्ठी लिएर मेरोअगाडि बसिबक्सिन्थ्यो । दाँहिने हातले लेख्न र खान नसकेर धेरैपटक पिटाइ पनि खाए तर सबै काम देब्रे हातले गरे पनि अहिले दुवै हातले सजिलोसँग खाना खान लेख्न सक्छु र लेख्ने, खाने कामको लागि सधैँ दाँहिने हात नै प्रयोग गर्छु यो मेरो लागि बिर्सिनै नसकिने क्षण बनेको छ ।

५. तपाइँको बुझाइमा असल शासन भनेको के हो ?
–असल शासन भनेको राज्यका हरेक नागरिकमा लागू हुने सहभागिता, जवाफदेहिता, उत्तरदायी, पारदर्शीमूलक, प्रभावकारी र सक्षमतालाई प्रभावकारी ढंगले सहि तरिकाले पालना गर्ने एक असल नियम हो ।

६. समाजका लागि तपाइँको प्रतिबद्धता के छ ?
– धन सबैसँग नहोला तर निधन सबैको एक दिन हुन्छ । यो प्राकतिक नियम हो त्यसैले हामी बाँचुन्जेल समय र परिस्थितिको माग अनुसार निस्वार्थ भावनाले औपचारिक तथा अनौपचारिक रुपमा आफ्नो क्षमताले सक्दो मानवीय सेवा गरौं र रमाऔं ।

 

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech