बाँसगढी नगरपालिकालाई २ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

असल शासन प्रतिनिधि

बर्दिया/ चौधरी फाउण्डेसनले  बर्दियाको बाँसगढी नगरपालिकालाई २ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । सि.जि.फुड्स इन्टरप्राइजेज प्रा.लि. बाँसगढी ३, पुष्पनगर बर्दियाका कम्पनी प्रमुख राजिवसिंह राजपुतले उक्त सामग्री बाँसगढी नगरपालिकाका नगर प्रमुख शालिकराम अधिकारीलाई सोमबार हस्तान्तरण गरेका छन् ।

कोरोना महामारीको बेला उपचारमा सहज होस् भन्ने उद्देश्यले उपलब्ध गराइएको अक्सिजन कन्सन्ट्रेटर बुझ्दै नगर प्रमुख शालिकराम अधिकारीले चौधरी फाउन्डेशनले समुदाय स्तरमा दिएको योगदानको स्मरण गराउँदै आगामी दिनमा पनि सहकार्यको निरन्तरताको अपेक्षा राखेको बताए ।

कम्पनीका प्रशासन प्रमुख कल गिरीले सञ्चालन गरेको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रममा मन्तव्य राख्दै जिल्ला स्वास्थ्य कार्यालका प्रमुख गोकर्ण गिरीले स्वास्थ्य सामाग्रीको आवश्यकता तथा उपयोगिताबारे प्रकाश पारेका थिए ।

त्यस्तै इलाका प्रशासन प्रमुख डिल्लीराम आचार्यले कोभिडले निम्त्याएको यस विषम परिस्थितिमा अभाव भएको स्वास्थ्य सुरक्षा समाग्री सबै भन्दा पहिले फाउण्डेसनले उपलब्ध गराएकोमा धन्यबाद दिएका थिए ।

कम्पनी प्रमुख राजिवसिंह राजपुतको अध्यक्षतामा संचालन भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरी, इलाका प्रशासन कार्यालयका प्रमुख डिल्लीराम आचार्य, इलाका प्रहरी कार्यालयका प्रमुख वीरेन्द्र सिं थापा, नगर स्वास्थ्य प्रमुख गीता घिमिरे, ३ नम्बर वडका वडाध्यक्ष प्रेम पौडेल तथा स्थानीय युवा क्लबका अध्यक्ष विकास सुवेदीलगायतको उपस्थिति रहेको थियो ।

  • १ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech