६ प्रश्नमा शोभा भण्डारी

हेमराज भट्ट

शोभा भण्डारी, कलाकार
गौंगबु, काठमाण्डौ

१. तपाइँको जीवनको आदर्श के हो ?
– मेरो जीवनको आदर्श भनेको बिना स्वार्थ सधंै सत्य र न्यायको बाटोमा हिँड्नु हो । अरुलाई कहिले पनि दुःख नदिनु, सबैको भलो हुने काम गर्नु र समयको माग अनुसार इमान्दारिता र जिम्मेवारीका साथ अघि बढ्नु हो ।
२. कसको उत्प्रेरणाले तपाइँ यहाँसम्म आइपुग्नु भयो ?
– मेरो जीवनको उत्प्रेरक व्यक्ति मेरो बाबा र आमा हुनु हुन्छ । उहाँहरुले सधैं मलाई छोरा मात्र नभई एक छोरी पनि हरेक क्षेत्रमा हिम्मत र निडर भएर काम गर्न सक्छ भन्ने सोचका साथ मलाई अगाडि बढ्नु पर्छ भन्ने हौसला दिनुभएको थियो । जसका कारण म आज यो ठाउँमा पुगेकी छु ।
३. तपाइँले समाजका लागि के गरिरहनु भएको छ ?
– म मेरो परिवार र समाजले स्वीकार गर्ने र सम्मान हुने काममा लागि रहेकी छु । अर्को कुरा समाज परिवर्तनका लागि आइपर्ने समस्या तथा चुनौतीलाई आफ्नो क्षमताले भ्याएसम्म सामना गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने काममा निरन्तर लागिपरेकी छु ।
४. तपाइँको जीवनको अविस्मरणीय क्षण ?
– मेरो जीवनमा धेरै अविष्मरणीय क्षण रहेका छन् । मैले अहिले सम्झिँदा म जम्मा ९ वर्षकी थिएँ । मेरो घरमा बुवा बुढो भइसक्नु भएको थियो भने आमा पनि बिरामी हुनुहुन्थ्यो । म घरको जेठो छोरी हँु २ भाइ र २ बहिनी भए पनि अरु म भन्दा झनै साना थिए । एक दिनको कुरा हो बुवाले एकजना छिमेकीलाई हाम्रो घरमा भएको केही सामान दिनुभएको रहेछ र त्यसबापतको पैसा लिन बाँकी रहेछ । हाम्रो घरमा चामल सकिएको थियो बुवाले मलाई जाऊ त्यहाँबाट पैसा लिनु अनि चामल ल्याएर आउनु भनेर पठाउनु भयो । म त्यहाँ गएर बुवाले पैसा मागेर ल्याउनु भन्नु भएको छ पैसा लिन आएको भन्दा उहाँले मलाई छैन अहिले किन चाहियो र अहिले भन्नु भयो । मैले समस्या नभनौ भन्दा पनि भन्नै पर्ने भयो र भने हाम्रो घरमा चामल सकिएको छ । यसो भनेपछि उनले मलाई लौ एक माना चामल लगेर जानु अनि सबै परिवारलाई खोले बनाएर खुवाउनु भनेर भन्नु भयो । मेरो मनमा निकै पिर पर्यो त्यो घटनाबाट जीवनमा मेहेनत गरेर केही गर्नु पर्छ भन्ने अठोट पैदा भयो । म त्यो घटनालाई झल्झली अहिले पनि सम्झिरहन्छु ।
५. तपाइँको बुझाइमा असल शासन भनेको के हो ?
– असल शासन भनेको इमान्दारिता र नैतिकता हो जस्तो लाग्छ । मान्छे जन्मेपछि एक दिन मर्नु नै पर्छ मानिसले जति सम्पत्ति कमाए पनि उससँग इमान्दारिता र नैकता छैन भने त्यसलाई कदापि समाजले असल व्यक्तिको रूपमा स्वीकार्दैन । त्यसैले आफूले पाएको जिम्मेवारी इमान्दारिता, नैतिकताका साथ पूरा गर्दै सबैको प्रिय बन्नु, समाजका लागि असल कार्य गर्नु नै असल शासन हो ।
६. समाजका लागि तपाइँको प्रतिबद्धता के छ ?
– समाजका लागि लज्जित हुने काम कहिले पनि म बाट हुने छैन । इमान्दारितासाथ समाजका लागि केही राम्रो काम गर्ने र समाजमा भएका समस्या समाधानका लागि निरन्तर क्रियाशील रहने मेरो प्रतिबद्धता छ ।

  • १ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech