क्रन्दन

कविता

भक्त बहादुर बस्नेत घोराहि १५, दाङ

ओए नेताज्यू

तिमी सभ्य सुकिला मुकिलालाई के थाहा

हामी पाखामा बस्ने पाखेहरुको व्यथा

तिम्रो असारे विकासले कोतरेको

हाम्रो पाखुराले थामेको भिरपाखो

असारे झरीले

गर्ल्यामगुर्लुम लड्दा

आफ्नाहरु गुमाउनुको पिडा

 तिमी त पुष्पक विमानमा सवार भएर

आकाशैबाट नजर डुलाउँछौ

नदीको भुईँमा छरिएका

गिट्टी बालुवामा आँखा लगाउँछौ

तर

त्यहि नदीको भेलमा बगेका

हामी भुईँमान्छेहरु कहाँ देख्छौ र

 कमिसनले ठडिएको कंक्रिटमा बिराजमान

तिमी हुकुमवासी

नदीको बगरमा लम्पसार

हामी सुकुम्बासी

यो असारे भेलले हामीलाई बगायो

पर्ख हनि हेर

चुनाबी भेलले तिमीलाई बगाउने छ ।

  • ४ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech