विपतमा अग्रसर गैसस क्षेत्र

मन भण्डारी

विभिन्न आपत, विपतको बेलामा अग्रसर हुंँदै आएका नागरिक समाजका संस्थाहरु कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा व्यवस्थापन अभियानमा सरुवातको चरणदेखिनै अग्र भागमा रहेका छन् ।

कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा ब्यवस्थापनका लागि सुरुवातको चरणदेखिनै विभिन्न कार्य गर्दै सक्रिय रूपमा लागेका नागरिक समाजका संस्थाहरु कोरोनाको दोस्रो लहरमा अग्रपङ्क्तिमा रहेर काम गरिरहेका छन् । कोरोना भाइरसको दोस्रो लहरले महामारीको रुप लिएपछि बाँके जिल्लाका गैर सरकारी संस्थाहरु कोरोना प्रतिकार्यमा सक्रिय रूपमा लागिपरेका छन् । बाँके जिल्लामा कोरोना भाइरसको दोस्रो लहरले महामारीको रुप लिन थालेपछि जिल्ला डिसिसिएमसीले गैर सरकारी संस्था महासंघ नेपालसँग समनन्वय बैठक गरी सहयोगका लागि अनुरोध गरेको थियो । गैसस महासंघको संयोजनमा विभिन्न नागरिक समाजका संस्थाहरुले विभिन्न सहयोग गर्दै आएको गैर सरकारी संस्था महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाहले बताए ।

भेरी अस्पताल र डिसिसिएमसी लगायतका क्षेत्रमा आवश्यक स्वास्थ्य सामाग्रीको अभाव भएपछि सुरुवातमै विभिन्न नागरिक समाजका संस्थाहरुले डिसिसिएमसी बाँकेलाई स्वास्थ्य सामाग्री सहगोग गरेका थिए । बाँके जिल्लामा केन्द्रीय कार्यालय रहेको बास नेपालले कोरोना प्रतिकार्य अभियाननै चलाएको छ । बास नेपालले नेपलीज अमेरिकन च्याम्बर अफ कमर्श डल्लासको साझेदारीमा डिसिसिएमसीलाई ६ लाख बराबरको मूल्यको विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेको बासका अध्यक्ष रमेश सिटौलाले जानकारी दिए । बासले भेरी अस्पताल नेपालगन्जलाई १ सय २० वटा सिलिन्डरमा अक्सिजन रिफिल गर्नका लागि ९० हजार सहयोग गरेको छ भने अस्पतालमा कोभिड–१९ का बिरामीहरुको सहयोगार्थ स्वास्थ्य सहायता डेस्क सञ्चालन गरेको छ । त्यसैगरी टिकापुर अस्पताललाई करिब १ लाख ५० हजार मूल्य बराबरको १०० पिस पिपिइ सहयोग गरेको बासले नेपालगन्जमा माक्स बैंक स्थापना गरी जिल्ला भित्र र बाहिर माक्स वितरण गरिरहेको छ । हालसम्म ५० हजार बढी मास्क वितरण गरिसकेको जनाएको छ । नेपालगन्ज उपमहानगरपालिकाले बाल मन्दिरमा सञ्चालन गर्न लागेको आइसोलेशनका लागि १० लाख नगद र सुर्खेतको पञ्चपुरी नगरपालिका र तातापानी स्वास्थ्यचौकीलाई अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामाग्री सहयोग गरेको बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले बताए । यी सबै कार्यमा नेपलीज अमेरिकन च्याम्बर अफ कमर्श डल्लास, टेक्ससलगायत विभिन्न व्यक्तिहरुको सहयोग रहेको छ ।

यसै गरी रेरी चिसापानीले दाङ जिल्लाको ३ स्थान, बाँकेको ४ स्थान, कैलालीको १ स्थान र सल्यानको १ स्थानमा गरी जम्मा ११ वटा अक्सिजन कन्सन्टेटर, पिपी सेट प्रति स्थानमा ५० पिस अक्सो मिटर प्रति स्थानमा १० पिस सहयोग गरेको छ । त्यसैगरी बाँकेको वनकटवा प्राथमिक स्वास्थ्य केन्द्र, खजुरा प्राथमिक स्वास्थ्य केन्द्र, चिसापानी स्वास्थ्य चौकी, कोहलपुर स्वास्थ्य चौकी र भेरी अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको रेरीका अध्यक्ष पुनित बिक्रम शाहले जानकारी दिए । त्यो सँगै बासले सञ्चालन गरेको माक्स बैंक, अञ्जनी माता रसोइ र कोहलपुरमा खना खुवाइ रहेको टिमलाई नगद तथा एनटिभी कोहलपुरलाई रुम स्प्रे सहयोग गरेको शाहले बताए ।
गेरुवा ग्रामीण जागरण संघ (गेरुवा) बर्दियाले एसएनभीको आर्थिक सहयोगमा कोभिड—१९ प्रतिकार्यका लागि डिसिसिएमसी बाँकेमार्फत् बाँके जिल्लाका ६ वटा आइसोलेशन सेन्टर र २० वटा स्वास्थ्य संस्थालाई विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सामाग्री अन्तर्गत सेनिटाइजर, सर्जिकल माक्स, पिपिइ सेट, सावुन, हर्पिक, फेस सिल्ड, हेण्ड वास, चर्पी ब्रस, स्प्रेयर टेंकलगायतको रु.६०९९४८.४६ रकम बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको गेरुवाका अध्यक्ष कृष्णजंग शाहले बताए । त्यसैगरी प्लान इन्टरनेशनलको सहयोगमा गेरुवा ग्रामीण जागरण संघ (गेरुवा) र बाँके युनेस्को क्लबले भेरी अञ्चल अस्पताल र जमुनाहा होल्डिङ्ग सेन्टरलाई विभिन्न स्वास्थ्य सामाग्रि सहयोग गरेको शाहले बताए ।

मिलाप बाँकेले डिसिसिएमसीलाई स्वास्थ्य सामाग्री सहयोग गर्नुका साथै कोरोना संक्रमित गरिब परिवारलाई खाद्यान्न सहयोग गरेको संस्थाकी पे्रमा रोकाले बताइन् । यसैगरी सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपाल नेपालगन्जले बासले सञ्चालन गरेको मास्क बैंकलाई २ हजार ५ सय थान मास्क सहयोग भने डिसिसिएमसी बाँकेलाई पिपिई सेट २० वटा, अक्सिमिटर ३ ओटा, माक्स १२५० पिस र स्यानीटाइजर ५०० एमएल ३५ पिस सहयोग गरेको छ । फात्तिमा फाउण्डेसनले डिसिसिएमसी मार्फत भेरी अस्पताललाई ५५ थान पिपिई, ५० बोतल सेनिटाइजर र ८० प्याकेट मास्क तथा नेपालगन्ज उपमहानगरपालिकालाइ १० थान पिपिई, १० बोतल सेनिटाईजर र १० प्याकेट मास्क सहयोग गरेको संस्थाकी अध्यक्ष मैमुना सिद्धिकीले बताइन् । यसैगरी संस्थाले भेरी अस्पतालमा रहेको अन्जनी माता रसोई र ४० वटा विपन्न घर परिवारलाइ खाद्यान्न सामाग्री सहयोग गरेको छ ।

द्वन्द्व पीडित तथा एकल महिला संजाल बाँकेले नेपाल मेडिकल एशोशिएसनको सहकार्यमा भेरी अस्पताल नेपालगन्जमा उपचारार्थ कोरोना बिरामी हरुका लागि पौष्टिक आहार सेवा संचालन गरेको छ । द्वन्द्व पीडित तथा एकल महिला संजालले दैनिक दुई सय ५० वटा अण्डा भेरी अस्पताल र नारी विकास केन्द्र आइसोलेशनमा रहेका संक्रमितलाई वितरण गर्दै आएको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जले भेरी अस्पतालमा उपचाररत कोभिड संक्रमित र कुरुवाहरूका लागि खानाको व्यवस्थापन गर्न रु. १ लाख सहयोग गरेको छ । भेरी अस्पताल, नेपालगञ्जको प्राङ्गणमा विगत आठ महिना देखि कोभिड संक्रमित र कुरुवाहरूलाई खाना खुवाउँदै आएको अञ्जनी माता रसोईलाई बिरामी र कुरुवा खानाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले इन्सेकले सहयोग गरेको संस्थाका प्रदेश संयोजक भोला महतले बताए । दलित महिला संघ (फेडो) बाँकेले भेरी अस्पताललाई विभिन्न स्वास्थ्य सामाग्री र अञ्जनी माता रसोईलाई तरकारी तथा खाद्यान्न सामाग्री सहयोग गरेको छ ।

सामाजिक सरोकार मंच (स्याक नेपाल) ले बर्दिया जिल्लाका आठवटै स्थानीय तहका गरी २ सय ३५ धरधरीलाई राहत वितरण गर्ने योजना बनाएको छ । बीग्रुपले बाँकेले भेरी अस्पताल नेपालगन्जलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । त्यसैगरी इन्रुडेक कोहलपुरले माक्स बैँक, विभिन्न प्रहरी चौकी, अस्पताल र महिला स्वास्थ्य स्वयम्सेविकालाई माक्स र अन्य स्वास्थ्य सामाग्री सहयोग गर्ने र आवश्यक क्षेत्रमा खाद्यान्न सहयोग गर्ने योजना रहेको अध्यक्ष धर्मलाल रोकायले बताए । त्यसैगरी रोटरी क्लब सेन्ट्रल अफ नेपालगन्ज, अक्टििमिस्ट क्लब, पूर्णतारा फाउण्डेसन, नारी विकास केन्द्रलगायतका संस्थाहरुले माक्स सहयोग गरेको छन् । विभिन्न गैसससँगै निजी क्षेत्र, विभिन्न व्यवसायिक संगठनहरु र सहकारीहरुले समेत कोरोना भाइरस नियन्त्रण तथा रोकथाम अभियानमा सहयोग गरेका छन् । विभिन्न संस्थाहरुले कोभिड—१९ प्रतिकार्यमा काम गरिरहेका छन् ।

विभिन्न समयमा आउने विपतको समयमा गैरसरकारी संस्थाहरुको भूमिका महत्वपूर्ण रहँदै आएको बाँकेका गैससकर्मीहरुको भनाइ छ । अघिल्लो वर्ष कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापनमा समेत गैससहरुको महत्वपूर्ण भूमिका रहेको थियो ।

  • ५ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech