नरैनापुरले ल्यायो आ.ब. २०७८/०७९ का लागि ४९ करोड बराबरको बजेट

असल शासन प्रतिनिधि

नेपालगन्ज / बाँकेको नरैनापुर गाँउपालिकाले आर्थिक बर्ष २०७८/०७९ का लागि ४९ करोड १ लाख ४६ हजार बराबरको बजेट ल्याएको छ ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा असार १० गते गाउँपालिकाको १०औं गाउँसभामा उक्त बजेट प्रस्तुत गरिएको हो ।

गाँउसभामा प्रस्तुत गरेको बजेट अनुसार नेपाल सरकार समानीकरण अनुदानतर्फ ११ करोड ५५ लाख, सशर्त अनुदानतर्फ १९ करोड २ लाख, विशेष अनुदानतर्फ १ करोड ४ लाख, समपुरक अनुदानतर्फ ४९ लाख, प्रदेश सरकार समानीकरण अनुदान ५४ लाख ३८ हजार, प्रदेश सरकार सशर्त अनुदान ८५ लाख ४४ हजार, प्रदेश सरकार विशेष अनुदानतर्फ ६० लाख, प्रदेश सरकार समपुरक अनुदान १ करोड ५० लाख र आन्तरिक श्रोत ५४ लाख ३० हजार हुने अनुमान गरिएको छ । गाँउपालिकाको व्ययतर्फ चालु खर्च ३० करोड ३ लाख ४६ हजार र पुँजीगततर्फ १८ करोड ९८ लाख गरी कुल ४९ करोड १ लाख ४६ हजार अनुमान गरिएको छ ।
गाँउपालिकाले आर्थिक बर्ष २०७८/०७९ मा कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकीकरणमा राखेको छ । प्रस्तुत बजेट मध्ये सामाजिक विकासतर्फ २० करोड १५ लाख, कृषितर्फ १ करोड ७३ लाख, उद्योगतर्फ २७ लाख, पर्यटनतर्फ १ करोड २० लाख विनियोजन गरिएको छ । त्यसैगरी गाँउपालिकाको शिक्षा तर्फको बजेट १३ करोड ५६ लाख र स्वास्थ्यतर्फको बजेट ५ करोड ६ लाख विनियोजन गरिएको छ । पूर्वाधार विकासमा भने १० करोड ७९ लाख, यातायात पूर्वाधारमा ७ करोड ५४ लाख, भवन, आवास तथा सहरी विकासतर्फ २ करोड ९७ लाख रहेको छ । यसैगरी गाँएपालिकाले सुशासन तर्फ ५ करोड १८ लाख रकम विनियोजन गरिएको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दल बहादुर बस्नेतले बताए ।
यसरी गाँउपालिकाले बजेट विनियोजन सँगै गाँउपालिकालाई समृद्ध र नमुना बनाउन विभिन्न महत्वकाक्षी योजना अगाडी सारेको छ । गाँउपालिकाले नयाँ आर्थिक बर्षका लागि अगाडी ल्याएका कार्यक्रम तथा योजनाहरु मध्ये ब्यवसायिक किसान नरैनापुरको शान अभियान अन्तरगत कृषकलाई आधुनिक यन्त्र औजार, मल विउविजन एवं बजारीकरणमा अनुदान सहयोग गर्ने, One day stay at narainapur homestay कार्यक्रम संचालन गर्दै व्यक्तिगत र सामुहिक लगानीमा होमस्टे संचालन गर्ने युवा उद्यमीलाई जनही २ लाख सम्मको नगद सहयोग गर्ने, छोरी पढाउः अगाडि बढाउ कार्यक्रमलाई अभियानको रुपमा संचालन गर्दै सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा १ देखि ३ सम्मका छात्रालाई मासिक २०० रुपैयाँ छात्राबृत्तिको व्यवस्था गर्ने र कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने सबै छात्रालाई साइकलको व्यवस्था गर्ने, सरकारी कोटामा डाक्टर, इन्जिनियर तथा विज्ञान बिषय अध्ययन गर्न चाहने बिद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था मिलाइने, खोजी खोजी बनाऔं साक्षर अभियान संचालन गरी सबै निरक्षर लाई साक्षर बनाउने रहेको छ । यसैगरी गाउँपालिका भित्रका सबै मूल सडक, सहायक गल्ली एवं कृषि सडकहरु निर्माण गर्न सफासुग्घर रोड कार्यक्रम संचालन गर्ने, एक घर एक शौचालय कार्यक्रमलाई अनिवार्य लागु गर्ने, प्राथामिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरमा अत्याधुनिक आँखा उपचार केन्द्र, सर्पदंश उपचार केन्द्र तत्काल संचालन गरी आकस्मिक कक्षलाई थप सुबिधा सम्पन्न बनाउने लगायतका कार्यक्रम लागु गर्ने गाँउपालिकाको योजना तथा कार्यक्रममा उल्लेख छ ।
नेपाल सरकारको असार १० गते भित्र सबै पालिकाले बजेट ल्याईसक्नु पर्ने प्रावधान अनुसार नरैनापुर गाँउपालिकाले असार ९ गते नै बजेट ल्याएर जिल्ला मै सबै पालिका भन्दा अगाडी बजेट ल्याउने पालिका बनेको छ । बाँकेका अन्य पालिकाहरु असार १० गते बजेट ल्याउने तयारीमा छन् ।

  • १० असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech