महादेवपुरी स्वास्थ्य चौकीको सामाजिक परिक्षण सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगन्ज । / राप्तीसोनारी गाउँपालिका स्थित महादेवपुरी स्वास्थ्य चौकीको सामाजिक परिक्षण कार्यक्रम गरिएको छ ।
राप्तीसोनारी गाँउपालिकाको आयोजना तथा बास नेपाल नेपालगन्जको सहजिरणमा असार १८ गते उक्त सामाजिक परिक्षण गरिएको थियो । महादेवपुरी स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवाको बारेमा आम नागरिकलाई जानकारी गर्ने तथा स्वास्थ्य चौकीको प्रगति सार्वजनिक गर्दै भावि योजना तयार गर्ने उद्धेश्यले उक्त परिक्षण गरिएको हो ।
स्वास्थ्य व्यवस्थापन समितिका उपाध्यक्ष सिता बिक, महादेवपुरी स्वास्थ्य चौकीका प्रमुख सिनियर अहेव अधिकृत लंक बहादुर वताला, वडा सचिब रोशन ओली लगायत सरोकारवालाहरुको उपस्थितीमा भएको संक्षिप्त सामाजिक परिक्षणमा स्वास्थ्य चौकीको प्रगतिका बारेमा समिक्षा गरिएको थियो । बासका निर्देशक तथा सामाजिक परिक्षक हेमराज भट्टले सहजिकरण गरेको कार्यक्रममा स्वास्थ्य चौकीले प्राप्त गरेका उपलब्धीको बारेमा तथ्यांक प्रस्तुत स्वास्थ्य चौकी प्रमुख बतालाले गरेका थिए । सामाजिक परिक्षणको क्रममा गरिएको अवलोकन, भेटघाट, सामाग्री अध्ययनको आधारमा स्वास्थ्य चौकीका राम्रा पक्ष र सुधार गर्नुपर्ने पक्षको बारेमा सामाजिक परिक्षक हेमराज भट्टले जानकारी गराएका थिए । त्यस पश्चात भएको खुल्ला छलफलमा स्वास्थ्य सुधारका विभिन्न बिषयमा प्रश्न तथा जिज्ञासा राखेका थिए । जसको जवाफ सरोकारवालाहरुले दिएका थिए ।

यसरी भएको सामाजिक परिक्षणबाट ६ बुदें नयाँ कार्ययोजना निर्माण गरिएको छ । यसरी तयार गरिएको कार्ययोजनामा स्वास्थ्य चौकी भवन पुरानो भएकाले नयाँ भवन निर्माण गर्न गाउँपालिकालाई पहल गर्ने, स्वयम् सेवीकाहरुकालागि आधारभुत तालिम प्रदान गर्ने, वडाको महादेवा स्थित गाउँघर क्लिनिकमा सामाग्री अभाव रहेकाले व्यवस्थापन गर्ने, प्रसुती गृहका कर्मचारीका लागि आवास निर्माण गर्ने, स्वास्थ्य चौकीमा आवश्यक पर्ने सामाग्रीको माग गर्ने र स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन गर्ने जनशक्ति रहेकाले सेवा सञ्चालनका लागि पहल गर्ने रहेका छन् । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ को हलमा भएको कार्यक्रमको समापन स्वास्थ्य ब्यवस्थापन समिति उपाध्यक्ष सिता बिकले गरेकी थिइन् ।

  • १९ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech