नेपालगन्जको आकर्षण टाँगा व्यवसाय विस्थापित

ईतिहास जोगाउन सरोकारवालासँग अपिल

आकाश कसौधन

नेपालगञ्ज/सयौं बर्ष देखि नेपालगन्जमा व्यवसायिक रुपमा चल्दै आएको टाँगा व्यवसाय विस्थापित भएको छ ।

नेपालगन्ज आउने आन्तरीक तथा वाह्य पर्यटकका लागि आकर्षणको रुपमा रहँदै आएको टाँगा व्यवसाय लोप भएपछि उक्त व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायि विस्थापित भएका छन् ।

पछिल्ला केही बर्ष यता ईरिक्साको बढ्दो प्रयोगले टाँगा व्यवसाय पूर्ण रुपमा विस्थापित भएको बताईन्छ । आन्तरीक तथा बाह्य पर्यटककालागि टाँगा व्यवसाय आकर्षणको रुपमा भएपनि स्थानीयले समयको बचतका कारण टाँगाको प्रयोग गर्न छाडेपछि उक्त व्यवसाय विस्थापित भएको व्यवसायिहरु बताउँछन् ।

स्थानीय जानिफकारका अनुसार, तत्कालिन समयमा नेपालगन्जको आकर्षणको रुपमा रहेको महेन्द्र पार्क जस्तै टाँगा स्टेशनको महत्व थियो । नगरभवन अगाडी रहेको टाँगा स्टेशनमा यात्रुहरुको घुईंचो लाग्ने गर्दथ्यो तर विस्तारै ईरिक्सा लगायतका अत्याधुनिक सवारी साधनको आगमनले उक्त आकर्षण समाप्त मात्रै गरेन सिंगो व्यवसायलाई नै विस्थापित गरिदिएको छ ।

एक पछि अर्को गर्दै नेपालगन्जको पुरानो ईतिहासको रुपमा रहेका यस्ता व्यवसाय बन्द हँुदा त्यसले नेपालगन्जको पहिचान मेटिदै गएको स्थानीयहरु बताउछन् । सयौंको संख्यामा उक्त व्यवसायबाट परिवार पाल्दै आएका व्यवसायि समेत मर्कामा परेका छन् ।

विगत केही बर्ष यता रहरको रुपमा बाहिरबाट आएका व्यक्तिहरुले टाँगा खोज्दै रुपैडीहा सम्म आवत जावत गर्ने गरेको भएपनि दुईबर्ष यता कोभिड संक्रमणका कारण बाहिरबाट यात्रु नआउनु र सिमा नाकामा सवारी आवत जावत रोकीनुले उक्त व्यवसायलाई पूर्ण विस्थापीत गरिदिएको बताईन्छ । यसरी नेपालगन्जबाट टाँगा व्यवसाय विस्थापित भएपछि त्यसको प्रत्यक्ष असर यहाँका मुस्लिम समुदाय त्यसमा पनि जसगड समुदायका व्यक्तिहरुलाई परेको छ ।

पुर्खा देखि सञ्चालन गर्दै आएको टाँगा व्यवसाय विस्थापीत भएपछि सो व्यवसायमा संलग्न व्यवसायीले हाल ठेला ब्यवसाय तथा मजदुरी गरेर गुजारा गर्नुपरेको बताउँछन् ।

नेपालगन्जमा सञ्चालित टाँगाको अर्को नाम घोडा गाडी पनि हो । व्यवसाय नै बन्द भएपछि पाल्दै आएका घोडाहरु समेत मर्न थालेको व्यवसायीले बताए । निकै कम मात्रै व्यक्तिहरुले पाल्दै आएको घोडा र घरमा सुरक्षित रुपमा राखेको टाँगा अहिले विवाह लगायतका कार्यका लागि मात्रै बुकिङ हुने गरेको बताईन्छ ।

यसरी नेपालगन्जको सिंगो ईतिहास बोकेको टाँगा व्यवसाय विस्थापीत भईसक्दा समेत त्यसको संरक्षणमा भने कसैको ध्यान जान सकेको छैन । विस्थापीत भएर अन्य पेशा ब्यवसाय अंगाल्न बाध्य टाँगा ब्यवसायिको पिडा न त कसैले सुनेको छ न उनीहरुलाई कतै बाट सहयोग नै भएको छ ।

पूर्ण रुपमा टाँगा व्यवसाय सञ्चालन हुन नसकेपनि घोडा र टाँगा संरक्षण गरेर राखेका व्यवसायिको उक्त व्यवसाय स्थानीय सरकारले संरक्षण गर्नुपर्ने उनीहरुको माग छ । नेपालगन्जको ईतिहासको रुपमा रहेको टाँगा व्यवसाय संरक्षण तर्फ सरोकारवालाको ध्यान जान जरुरी छ ।

– प्रशिक्षार्थी पत्रकार

  • ७ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech