रोजगार कार्यक्रमको पैंसा जनप्रतिनिधिको खल्तीमा

असल शासन प्रतिनिधि

रुकुम पश्चिम/मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत व्यक्तिको बैंक खातामा जम्मा गरिएको रकम जनप्रतिनिधिले भुक्तानी भए लगत्तै फिर्ता लिने गरेका छन् । उक्त रकम उनीहरुको खल्तिमा जाने गरेको छ ।

गरिब एवम् बेरोजगार व्यक्तिहरुको जीवनस्तरमा सुधार गरी गरिबी न्युनिकरणमा सहयोग पु¥याउने लक्ष्यका साथ कर्णाली प्रदेश सरकारले ल्याएको उक्त कार्यक्रम बाफतको रकम लक्षित बर्गबाट जनप्रतिनिधिहरुले फिर्ता लिने गरेका हुन् ।

चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडा जनप्रतिनिधिहरुले आफ्नो वडामा परेको मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको दुई ओटा योजनाको रकम बिभिन्न व्यक्तिको खातामा जम्मा भएपछि बैंकमा बोलाएर पैसा फिर्ता लिने गरेको जानकारी प्राप्त भएको छ ।

प्राप्त जानकारी अनुसार स्वरोजगारको लागि फर्जि नाम दर्ता गराएर, कामै नगरेका बिभिन्न व्यक्तिहरुको बैंक खाता मागेर लाखौ रकम बैकमा जम्मा गरिएको थियो । सोहि रकम निकाल्न बैंकमा बोलाउँदै फिर्ता लिदै गरिएको खातावालाहरुले बताएका छन् ।

आईतबार, सोमबार र मंगलबार तीन दिन वडाबाट बोलाईएका बिभिन्न व्यक्तिहरुले चौरजहारीमा रहेको राष्ट्रिय वाणिज्य बैकबाट पैसा निकाल्ने बित्तिकै वडा सदस्य शसिराम नेपालीको झोलामा जम्मा गर्ने गरेका हुन् । नाम प्रकाशन नगर्ने सर्तमा एक खातावालाले भने, ‘मेरो खातामा ६४ हजार जम्मा भएको रैछ, सबै निकाले, पाँच हजार मलाई दिनुभयो, अरु सबै उहाँले झोलामा हाल्न लगाउनुभयो ।’ उनले गाउँका सबैजसोले केहि रकम खातावालालाई दिएर अरु सबै रकम जनप्रतिनिधिले फिर्ता लिएको जानकारी दिए ।

बैंक खाताको रकम निकाल्ने बित्तिकै जनप्रतिनिधिले लिने गरेको सूचना पाएपछि सोहि वडाका एक अर्का व्यक्तिले आफ्नो खातामा जम्मा भएको सरकारको रकम जनप्रतिनिधिलाई फिर्ता नदिने भन्दै बैंक नगएको बताए । करिब २ घण्टा हिडेर घरबाट बैंक पुगेको बताउँदै उनले अर्को दिन आएर चेक साट्ने जनाए ।

व्यवहारिकता मिलाउन पैसा फिर्ता लिएका हौं  : जनप्रतिनिधि

यस बिषयमा चौरजहारी नगरपालिका वडा नम्वर ८ का वडा सदस्य शसिराम नेपालीले व्यबहारिकता मिलाउन केहि रकम फिर्ता लिईएको बताए । उनले कालिका आधारभूत बिद्यालयको फिल्ड तथा पर्खाल निर्माण र गेरुखोला सिचाई पोखरी निर्माणको लागि कार्यक्रम परेको जानकारी दिदै वडाबाट ४० जनाको नाम र खाता मिलाएर पठाएको र खातामा जम्मा भएको जम्मा रकम मध्ये केहि रकम फिर्ता लिईएको प्रतिक्रिया दिए ।

बैंकमै बसेर चेक साट्न बित्तिकै फिर्ता लिएको गुनासो छ, खास कुरा के हो नि भनेर सोधेको प्रश्नमा वडा सदस्य नेपालीले भने, ‘बजारमा योजनाको रकम तिर्नु थियो, कार्यवहाक वडा अध्यक्ष देवी खड्का र एक जना शिक्षक पनि थियौ । केहि रकम व्यबहारिकता मिलाउन फिर्ता लिएका हौ ।’ उनले उक्त योजनाको लागि बजारबाट सरिया, सिमेन्ट लिएको, बालुवा बोकेको गाडिलाई तिर्न बाँकि रहेकोले व्यबहारिक कुरा मिलाउन त्यसो गरिएको जनाए । आईतबार र सोमबार केहि व्यक्तिले बैंक निकालेको र अब ९ जनाले मात्र रकम निकाल्न बाँकि रहेको समेत नेपालीले जानकारी दिए ।

पाँच हजार मात्र दिएर अरु रकम फिर्ता लिनुको कारण बारे सदस्य नेपालीले फिर्ता लिएको स्विकादै भने, ‘कसैले पाँच हजार लिए, कसैले बिस हजार सम्म पनि लिएका छन् ।’ उनका अनुसार वडा नम्वर ८ बाट परेका ४० जना मध्य कममा ४६, ४७ हजार र बढीमा ६४,६५ हजार सम्म रकम खातामा जम्मा भएको हो ।

यस बिषयमा चौरजहारी नगरपालिकाकी उप प्रमुख राधा रोकाले उक्त वडामा दुई ओटा योजना वापतको १० लाख रकम नगरपालिकाबाट दिईएको बताउनुहुँदै परिणाममुखी कामको लागि वडाले निर्देशिका मिचेको हुन सक्ने बताईन । विकास निर्माणको कामको लागि खरिद गरिएका बिभिन्न सामाग्रीको पैसा मेकअप गर्नको लागि काम नगरेकाहरुको पैसा फिर्ता लिईएको हुन सक्ने भन्दै स्थानीय स्तरको आवश्यकता अनुसार अतिकति निर्देशिका मिचेर काम गर्नुपर्ने बाध्यता रहेको समेत उप प्रमुख रोकाले उल्लेख गरिन् ।

वडाले काम गरेको दिनको मात्रै दिने र अरु रकम फिर्ता दिनेगरी पहिले नै जानकारी गराएको बताउदै उनले बैकमै जनप्रतिनिधि गएर पैसा फिर्ता माग्नु अलि गलत भएको जनाईन् ।

रोजगार कार्यक्रमबाट अन्यत्र भन्दा भन्दा नमूनायोग्य काम गरेको दाबी गर्दै उप प्रमुख रोकाले निर्देशिकालाई मात्र फ्लो गर्न खोज्दा स्थानीय आवश्यकता पुरा गर्न मुश्किल भएको उल्लेख गरिन् । कामै नगरेका मान्छेको खातामा पैसा हालेर फेरि फिर्ता माग्ने कार्य व्यबहारिकता मिलाउन गरेको भन्दै उनले त्यस कार्यको बचाउन समेत गरिन् ।

  • ७ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech