नागरिक प्रतिको उत्तरदायित्व पुरा गर्दै खजुरा गाउँपालिका

गरिब तथा विपन्न परिवारलाई १६ घर हस्तान्तरणको अन्तिम तयारी

असल शासन प्रतिनिधि

नेपालगन्ज / बाँकेको खजुरा गाउँपालिकाले पालिका भित्र रहेका गरिब तथा विपन्न परिवारका लागि सामुहिक आवास निर्माण गरेको छ ।
विपन्न तथा घर जग्गा नभएका आफ्ना नागरिकका लागि स्थानीय सरकारले गर्नुपर्ने दायित्व अन्तरगत उक्त आवास निर्माण गरेको गाँउपालिकाले जनाएको छ ।
खजुरा गाउपालिकाद्वारा निर्माणाधीन सामुहिक आवास अन्तरगत १६ ओटा घरहरु तयार भईसकेको र केही दिन भित्र नै हस्तान्तरणको तयारीमा गाउँपालिका रहेको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले बताए ।


खजुरा गाउँपालिका वडा नम्बर ३ स्थित सार्वजनिक जमिनमा १६ ओटा घर बिजुली बत्ति र खानेपानीको व्यवस्था सहित तयार भएको खजुरा गाउँपालिकाका योजना अधिकृत दिल बहादुर पौडेलले असल शासनलाई बताए । उनका अनुसार गाउँपालिका भित्र बसोबास गर्ने तर घर जग्गा नभएका व्यक्तिलाई उक्त घर हस्तान्तरण गरिने छ । उक्त आवासका लागि आवेदन लिईसकेको र छनौटको अन्तिम चरणमा पालिका रहेको उनले बताए । आवास प्राप्त गर्न नेपाली नागरिक हुनुपर्ने तथा गाउँपालिकामा बसोबास गरिरहेको हुनुपर्ने मापदण्ड तयार गरिएको छ । अन्यन्त्रबाट बसाई सराईको हकमा कम्तिमा पाँच बर्ष देखि गाउँपालिका भित्र बसोबास गरिरहेको हुनुपर्ने मापदण्डमा उल्लेख छ । यसरी तयार भएको सामुहिक आवास अन्तरतको प्रत्येक घरमा बरण्डा सहितका दुई कोठा र एक भान्सा कोठा रहेका छन् । प्रति घर करिब चार लाख बराबरको लागतमा निर्माण सम्पन्न भएको उक्त आवासका प्रत्येक घर अगाडी सानो करेशाबारिकालागि समेत जमिन रहेको छ ।


नेपाल सरकारको तराई मधेष सम्बृद्धी कार्यक्रम अन्तरगत तयार गरिएको उक्त आवास भदौको अन्त्य सम्म गरिब तथा बिपन्न नागरिकलाई हस्तान्तरण गरिसक्ने बताईएको छ । हस्तान्तरण पूर्ब गाँउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति लगायतको टोलीले साउन १२ गते उक्त आवासको अनुगमन समेत गरेका छन् ।
यस अघि पनि खजुरा गाउँपालिकाले वडा नम्बर ७ मा जग्गा भएका तर आर्थिक अवस्था कमजोर भएका कारण घर निर्माण गर्न नसकेका करिब २२ परिवारका लागि घर निर्माण गरिदिएको थियो । गाउँपालिकाले विपन्न तथा घर विहिन गाँउपालिका बासिहरुका लागि सामुहिक आवास निर्माण गरि घर हस्तान्तरण गर्न थालेपछि गरिब तथा विपन्न परिवारमा खुसीयाली छाएको छ ।

  • १३ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech