दाइजोको निहुँमा महिलाको हत्या

असल शासन प्रतिनिधि

नेपालगन्ज/ दाईजोको निहुँमा बाँकेको जानकी गाउँपालिका– २ नेवाजी गाउँमा एक महिलाको हत्या भएको छ । दाइजो नल्याएको भन्दै परिवारबाट पटकपटक हिंसाको सिकार बन्दै आएकी ३८ वर्षीया नन्कुन्नी धोबीको हत्या भएको माइती पक्षले आरोप लगाएका छन् ।

नन्कुन्नीका श्रीमान रामकुमार धोवीलगायतले फासी लगाएर मारेको उनका भाइ माताप्रसाद धोवीले बताएका छन् । दाइजोको निहुँमा नन्कुन्नीका श्रीमान र परिवारका सदस्यले पटकपटक कुटपिट गर्ने, गाली गलौच गर्ने, घर निकाला गर्ने, मार्ने धम्की दिने लगायतका कार्य गर्दै आएकोमा श्रावण ५ गते नन्कुन्नीको हत्या गरिएको माइती पक्षको आरोप छ ।

त्यस अघि पटक पटक हिंसा हुन थालेपछि न्यायको लागि महिला अधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरूमा पुगेकी थिइन् । महिला अधिकार मञ्चको सहयोगमा बेलभार प्रहरी चौकी र जोगागाउँ प्रहरी चौकीबाट घरमै प्रहरी गई सम्झाइ बुझाइ गरिएको थियो । यति हुँदा पनि त्यो घटना रोकिएन र आफ्नै परिवारका सदस्यहरूबाट फासी लगाई नन्कुन्नीको हत्या भयो ।

नन्कुन्नीको हत्या भएको भन्दै उनका भाइ माता प्रसाद धोवीले ज्यान सम्बन्धी कसुर जाहेरी दिँदा जिल्ला प्रहरी कार्यालयले घटनालाई हत्या नभइ आत्म हत्या भएको भन्दै जाहेरी दर्ता गर्न मानेको छैन ।

मिलेमतो र राजनीतिक दबाबमा जाहेरी दर्ता नभएको पीडित पक्षको गुनासो छ । जाहेरी दर्ता नगरेको र न्याय नपाएको भन्दै पीडित पक्षले बुधबार बाँकेका प्रमुख जिल्ला अधिकारीमार्फत् राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय र गृह मन्त्रालयको कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

महिला अधिकार मञ्चको सहयोगमा मृतकका भाइ माता प्रसाद धोवी र बहिनी सिला धोवीले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्रमा अविलम्ब जाहेरी दर्ता गरी दोषीलाई कारबाही गर्नु पर्ने माग गरिएको छ ।

  • १४ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech