केशव शर्मा दाहालको “फर्कन छोरा”

असल शासन प्रतिनिधि

नेपालगन्ज–  अमेरिकाको कनेक्टिकट राज्य निवासी गायक तथा संगीतकार केशव शर्मा दाहालले “फर्कन छोरा” गीत लिएर आएका छन् । गायक राजेश पायल राईको स्वर, आफ्नै शब्द-संगीत र चन्दु गोर्खालीको संगीत संयोजनमा तयार भएको “फर्कन छोरा” बोलको गीत यही जुलाई ३० तारिख, शुक्रवारका दिन सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी केशवले दिएका छन् ।
देशमा भएको बेरोजगारी र पारिवारिक, सामाजिक तथा अन्य विविध कारणले विदेशिन बाध्य नेपाली युवा र तिनका वृद्ध बुबा आमाको पीडालाई केन्द्रमा राखेर सिर्जना गरिएको यो गीत अत्यन्तै मार्मिक गीत बनेको छ । सदाबहार स्वरका धनी गायक राजेश पायल राईको स्वरमा यो गीत अत्यन्त जीवन्त बनेको छ । नेपाली समाजको वर्तमान परिदृश्य बोकेको यो गीत नेपाली जनजिब्रोमा अवश्य नै झुन्डिने छ भन्ने अटल आशा र विश्वास दाहालले गरेका छन् ।
नेपालको पूर्व ताप्लेजुङ्गमा जन्मेर, हाल अमेरिकामा बस्दै आएका केशवले रचनाकार सुवास चाम्लिङको शब्द-संगीतमा “बैंसमा लाएको पिरती, हलचल भन्छन्” लगायतका नेपाली गीत र संगीतबाट डेब्यु गरेका थिए । डा. राजु बाबु श्रेष्ठको शब्द र संगीतकार राजन राज सिवाकोटीको संगीतमा हालका चर्चित गायिका मेलिना राई संगै गाएको “चौतारीमा बसौन पियारी” बोलको गीतले आफ्नै अफिसियल युट्युव च्यानलमा करिव २०६,००० भिउज पाउन सफल भएको छ ।
यस गीतको अडियो तथा श्रव्य दृश्यको ट्रिजर Keshab S. Dahal Official युट्युव च्यानलमा सार्वजनिक गरिएको छ र त्यसलाई यो लिंकमा गएर हेर्न सकिने छ https://youtu.be/IayUOuVop7E. ।
केशव संगीतको समेत असल विद्यार्थी भएको कारणले होला स्वरमा निखरता र मिठासको अनुभूति गर्न सकिन्छ । लोक आधुनिक शैलीका गीतहरुमा मात्र नभएर भजन शैलीको गीतमा पनि केशव उत्तिकै जमेको देखिन्छ ।
कवि तथा गीतकार धन लामाको शब्द, चन्दु गोर्खालीको संयोजन र आफ्नै स्वर-संगीतमा गत जुलाई १८ मा सार्वजनिक गरेको “भानु तिम्रो रामायणले मैले राम जाने” बोलको गीतले नेपाली भाषा साहित्यमा आदिकवि भानु भक्त आचार्यले पुर्याएको योगदानलाई पुन: उजिल्याउने काम गरेको छ । प्रवासमा आफ्ना व्यस्त समयका बाबजुद नेपाली गीत संगीतको साधनामा निरन्तर लागिरहेका गायक तथा संगीतकार केशव शर्मा दाहाललाई सफलताको शुभकामना !

  • १४ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech