नेपालगन्जका घुम्ती शौचालय बन्द

लक्ष्मण शाही

केही वर्ष अघि नेपालगन्ज उपमहानगरपालिकाले संचालनमा ल्याएका घुम्ती शौचालय अहिले बन्द भएका छन् । नेपालगन्ज उपमहानगरपालिकाले २०७५ माघ ९ गतेदेखि ४ ओटा घुम्ती शौचालय सञ्चालनमा ल्याएको थियो । सर्वसाधारण नागिरक र पैदल यात्रुको सुविधालाई मध्यनजर गर्दै एसियाली विकास बैँक (एडिबी) को सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाले ५९ लाखमा खरिद गरेर ल्याएका चार वटा घुम्ती शौचालयको व्यवस्थापन गर्न नसक्दा बन्द भएका हुन् ।
सुरुवातको करिब ४ महिना नेपालगन्जका विभिन्न चोक–चोकमा राखिएका घुम्ती शौचालय स्थानीयले विरोध गरेपछि र ट्राफिक प्रहरीले व्यवस्थापनमा चासो नदिएपछि घम्ती शौचालय हटाउनु परेको नेपालगन्ज उपमहानगरपालिकाका सरसफाइ शाखाका प्रमुख इन्जिनियर प्रकाश डिसीले बताए । सुरुमा ४ वटाको ३ महिनाको ७२ हजारमा सरसफाइकर्मी भानु भट्टलाई ठेक्कामा दिएर संचालनमा आएका घुम्ती शौचालयमा मान्छेहरु शौच गर्नै नआएको तथा शौचालय प्रयोग गरेबापत पैसा तिर्न नमानेका कारण ठेक्का घाटामा गएको भन्दै ठेक्कामा लिएको व्यक्तिले छोडेपछि शौचालय प्रयोगविहीन भई थन्क्याइएको उपमहानगरको भनाइ छ । ४ वटा शौचालयमध्ये हाल २ वटा घुम्ती शौचालय नारी विकास केन्द्रको आइसोलेसन सेन्टर राम लीला मैदान नजिक संचालनममा रहेका छन् भने बाँकी २ वटा बन्द अवस्थामा रहेको इन्जिनियर प्रकाश डिसीको भनाइ छ ।
खुला शौचको समस्या हटाउन सार्वजनिक शौचालय नभएका चोकहरुमा उपमहानगरपालिकाले घुम्ती शौचालय राख्ने गरेको थियो । घुम्ती शौचालय संचालनमा आएपछि नेपालगन्ज उपमहानगरपालिकाले सुरुवातका दिनहरुमा खुबै प्रशंसा पाए पनि अहिले ती स्थानहरुमा पुरानै समस्या दोहोरिएको छ ।

  • १६ श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech