वडा तहसम्म मानव वेचबिखन नियन्त्रणको संयन्त्र बन्ने

असल शासन प्रतिनिधि

नेपालगञ्ज,साउन १७/मानव बेचबिखन नियन्त्रणका लागि नेपालगञ्ज उप–महानगरपालिकाका सबै वडासम्म संयन्त्र निर्माण गरिने भएको छ । मानव बेचबिखन नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन स्थानीय मानव बेचबिखन नियन्त्रण समितिसँगको बार्षिक समीक्षा र योजना बैठक आईतबारदेखि नेपालगञ्जमा सुरु भएको छ ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले सम्पूर्ण वडा तहसम्म समिति गठन गरेर अघि बढ्ने योजना रहेको बताउनुभयो ।

उहाँले विगतको कामको समीक्षा गर्दै भावी कार्ययोजना बनाइने जानकारी दिनुभयो । नेपालगञ्ज उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख शोभा शाहले मानव बेचबिखन नियन्त्रणका लागि टोलस्तर सम्म प्रभावकारी संयन्त्र निर्माण गरि अघि बढ्न खोजिएको बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण स्थानीय समितिको आयोजनामा भएको कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, वडा सचिव तथा मानव बेचबिखन नियन्त्रणको अभियानमा सहभागी संघ संस्थाका प्रतिनिधीको सहभागिता रहेको छ ।

सामाजिक विकास समितिका संयोजक वशन्ता जोशीको अध्यक्षतामा भएको कार्यक्रममा माईती नेपालका केशव कोइराला, अधिकारकर्मी कमला पन्त, महिला विकास अधिकृत मञ्जु पाण्डे लगायतले विभिन्न विषयमा सहजिकरण गर्नुभएको छ । मानव बेचबिखन नियन्त्रणलाई प्रभावकारी बनाउन मुलुककै पहिलोपटक नेपालगञ्जले कार्यविधि बनाएको छ । कार्यविध अनुसार समिति गठन लगायतका काम भईरहेको छ ।

  • १८ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech