खेलकुद विकास समितिका अध्यक्ष शाहले गरे पदभार ग्रहण

कार्यक्रममा खेलकुद विकास समिति बाँकेका अध्यक्ष मोहित शाह सहित पदाधिकारीहरुको स्वागत, निर्वतमान अध्यक्ष आतंक बस्नेतको बिदाई तथा महाकाली मेची साईकल यात्रा गरेका सामाजिक अगुवा तेज विक्रम शाहलाई सम्मान गरिएको छ ।

असल शासन प्रतिनिधि

नेपालगन्ज / जिल्ला खेलकुद बिकास समिति बाँकेका अध्यक्ष मोहित शाहले पदभार ग्रहण गरेका छन् ।
जिल्ला खेलकुद विकास समितिमा आयोजित कार्यक्रममा मंगलबार अध्यक्ष शाहले पदभार ग्रहण गरेका हुन् ।
राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद मुल नाराका साथ खेलकुद विकास समिति बाँकेको आयोजनामा भएको स्वागत, पदभार तथा सम्मान कार्यक्रममा अध्यक्ष शाहलाई स्वागत गरिएको थियो । जिल्ला खेलकुद विकास समितिको पदभार ग्रहण पश्चात असल शासनसँग कुरा गर्दै अध्यक्ष शाहले चाडै बाँकेको खेलकुदलाई चलायमान बनाउने गरी कार्ययोजना ल्याउने बताए । उनले हाल राखेप अन्तरगत नेपालगन्ज रंगशालामा रहेको करोडौको भौतिक संरचनाको संरक्षण र प्रयोगका बिषयमा समेत आवश्यक समन्वय गर्ने बताए । कोभिडका कारण प्रायः बन्द अवस्थामा रहेको रंगशालालाई खेलाडीका लागि छिट्टै सहज वातावरण बनाउन खेलकुद प्रतियागिताको आयोजना गर्ने उनले प्रतिबद्धता गरेका छन् । अध्यक्षमा चयन गर्ने खेलकुद मन्त्रालय, लुम्बिनी प्रदेश खेलकुद परिषद लगायतसबैलाई धन्यबाद ज्ञापन गरे ।

यसैगरी कार्यक्रमका बिच खेलकुद विकास समिति बाँकेका निर्वतमान अध्यक्ष आतंक बस्नेतको बिदाई गरिएको थियो भने कार्यक्रममा कोभिड १९ बाट ज्यान गुमाउने नागरिकहरु प्रती समवेदना प्रकट गर्दै महाकाली मेची साईकल यात्रा सम्पन्न गरेका सामाजिक अगुवा तेज विक्रम शाहलाई सम्मान गरिएको थियो ।


कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव भीम ओली, प्रदेश सदस्य राम बहादुर थापा, खेलकुद विकास समितिका निर्वतमान अध्यक्ष आतंक बस्नेत, क्षेत्रीय खेलकुद विकास समितिका कर्मचारीहरुले अध्यक्ष शाह लगायत पदाधिकारीलाई स्वागत तथा कार्यकालको शुभकामना दिएका थिए ।

  • ८ भाद्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech