सुदुरपश्चिमको मुख्य पर्ब गौरा शुरु आज घरघरमा बिरुडा राखिदै

भुबि बिष्ट

बैतडी / सुुदूरपश्चिम प्रदेशको महत्वपूर्ण पर्ब गौरा आज देखि सुरु भएको छ ।
गौरा पर्वको शुरुवात भए देखि नै उक्त प्रदेशमा गौरा पर्वको रौनकसँगै आम नागरिकहरुमा खुसीयाली छाएको छ । गौरा पर्वको पहिलो दिन आज पञ्चमी भएकाले सबैले आआफ्नो घरमा बिरुडा राख्न विहानै देखि ब्यस्त रहेका छन् । महिलाहरुले बिहानै स्नान गरी घरको एक कोठामा गाईको गोबरले लिपेर तामापितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाइ टीका र अक्षताले सिङ्गारेर धुप–बत्ती बालेर पञ्च अन्न गहुँ, मास, गहत, गोरस र कलौ भिजाएर राखेर भगवान महेश्वरको आहृवान गर्ने गरिन्छ । यसरी सम्पूर्ण काम पुरा गरेर गरिने कार्यलाई बिरुडा राख्ने भनिन्छ । बिरुडा राख्दा महिलाहरुले माङ्गलिक गीतहरु गाउँदै गाउँका पँधेरो, खोला, नदीको मुहानमा बिरुडा भिजाउँछन् भने पञ्च वनस्पति (धान, साँउ, तिल, बेल र पाती) को पुत्ला बनाएर पँधेरामा राखी पूजा गर्ने र बिरुडा लिएर मंगल गीत गाउँदै घरमा ल्याएर राख्ने परम्परा रहेको छ। विवाहित महिलाले गौरा पर्वमा बर्त बसी कण्ठ सूत्र धारण गर्नुपर्ने र पुरुष सरह गायत्री जप गरी भोजन ग्रहण गर्ने परम्परा समेत गौरामा रहेको छ ।

यसैगरी सप्तमीका दिन महिलाले दिनभरि व्रत बसेर आफ्नो परिवारको सुख, समृद्धि र चिरायूको कामना गर्दै गौरा राख्ने ठाउँमा महेश्वरको पूजा गर्ने चलन छ । सात गाँठो पारिएको दुर्वासहितको कण्ठ सूत्र दुवधागो, पञ्चगव्य अभिषेक गरी गौराको खुटृामा राख्ने गरिन्छ । यस्तै अष्टमीका दिन रङ्गीचङ्गी कपडामा सजिएका महिलाले गौरा राख्ने ठाउँमा पञ्च वनस्पतिले बनाइएको गौराको प्रतीमालाई रेशमी कपडाले सिङ्गारेर महेश्वरको प्रतीमासँगै बाहिर ल्याएर आसनमा राखी आठ अध्याय र आठ खण्ड भएको अठेवललीमा गौरा र महेश्वरलाई शिरमा राखेर नाँच्ने गर्दछन् ।
गौराको प्रसादका रूपमा बिरुडा आफन्तलाई बाँडिने र भोलिपल्ट गौरा खेल्ने खेलाउनुका साथै देउडा गीत गाएर रमाइलो गर्ने गरिन्छ । गौरा पर्वमा नयाँ कपडा लगाउनाका साथै सेल, पुरी र चामलको पिठोबाट बनेको माणा, खीर, मालपुवा, बटुकजस्ता शाकाहारी पकवान खाने चलन रहेको छ । सुदुरपश्चिम भरी निकै हर्शोल्लासका साथ मनाईने गौरा पर्बमा टाढा रहेको आफन्तहरु घरमा आउने र हरेक ब्यक्तिले नयाँ लुगा लाउने प्रचलन रहेको छ । गौरा पर्बको अवसमरा सुदुरपश्चिम प्रदेशमा सार्वजनिक विदा हुने गर्दछ । पछिल्लो समय गौरा पर्बलाई सुदुरपश्चिमेलीहरुले काठमाण्डौ लगायत देशका विभिन्न स्थानमा समेत मनाउदै आएका छन् ।

  • ११ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech