सेनाको ज्यादती !

असल शासन प्रतिनिधि

कुरा केही दिन अघिकोे हो, बासका कर्मचारी र केन्द्रीय समितिका पदाधिकारीसँगै म बासको वार्षिक समीक्षा बैठकको लागि बर्दियाको ठाकुरद्वारा जाँदै थिएँ । बाटोमा गीत सुन्दै रमाउँदै हामी यात्रा गरिरहेका थियौं । हामी बर्दियाको सैनवार चेक पोष्ट नजिक पुगेपछि गीत बन्द गर्‍यौं । मेरै मोबाइलदेखि गीत बजाएको हुनाले मोबाइल मेरो हातमै थियो र म गाडीको झ्यालतिर बसेको थिएँ । गाडी रोकिएको केही सेकेन्डमै एकजना आर्मी म तिर एकोहोरो हेरेर म नजिक आए । किन त्यसरी मलाईनै हेरेर उनी आए भनेर मलाई अलि असहज भइरहेको थियो । उनले मलाई चिनेको भएर नजिक आएको हो भन्ने सोचे । तर उनी रिसाउँदै मेरो नजिक आएर तपाइँले मेरो फोटो खिच्नु भएको छ है भन्दै मेरो मोबाइलतिर हेरे । मैले छैन किन खिच्नु तपाइँको फोटो भन्दै मेरो मोबाइलमा हेर्नुस् भनि उहाँकै हातमा दिए । उनले हेरे र फोटो नदेखेपछि एकछिनसम्म चुप बसे । उनले अभद्र तवरले तपाईं गाडीबाट झर्नुहोस्, बाहिर आउनुहोस् भने ।

आफूले कुनै गल्ती नगरेको भएर म कत्ति पनि डराएन र चेक पोष्टमा गएर उनले उभिनु भनेकै ठाउँमा उभिए । उनले किन फोटो खिचेको भने । मैले तपाईंको फोटो खिचेको नै छैन, तपाईंले आफ्नै आँखाले मेरो मोबाइलमा हेरिसक्नु भयो भने ।

उनले फेरि मेरो मोबाइल मागेर हेरे । उनले भने जस्तो फोटो नपाए पनि बबई नजिक खिचेको भिडियोलाई निहुँ बनाएर विवाद गर्न खोजे । म सँगै रहेकी बासका केन्द्रीय कार्यबाहक कोषाध्यक्ष दिला शाहले संस्था र ठाकुरद्वारा बर्दिया यात्राबारे जानकारी गराउँदासमेत बिना गल्ती उनले हामीसँग कचकच गरिरहे ।

आफूले केही गल्ती नगर्दा पनि त्यस्तो व्यवहार गर्दा मलाई एकदमै नराम्रो लागिरहेको थियो । उनले भनेको कुराको जवाफ दिन मन थियो । तर उनको त्यस्तो व्यवहार देख्दा अरू केही नबोली हामी गाडीमा आयौं ।

बवई नजिक सबैले फोटो, भिडियो खिचेको मैले देखेकी छु । यदि त्यहाँ खिच्न मिल्दैन भने नेपाली सेनाले फोटो खिच्न निषेध गर्नु प¥यो । अन्यथा नभएको नियम लगाएर, नगरेको गल्ती, गल्ती गरेको भनी दुःख दिनु कत्तिको जायज कुरा हो ? यसरी नेपाली सेनाको एक जवानबाट पाएको अनाहकको दुःखले मेरो मन खिन्न भएको छ । यसरी यात्रा गर्ने यात्रुलाई अनावश्यक दुःख र तनाव दिनका लागि स्थापना गरिएका हुन् र चेक पोष्ट ? अनाहकमा दुःख दिने त्यस्तालाई हदैसम्मको कारबाही गर्न जरुरी छ ।

जस्मिन शाह, नेपालगन्ज

 

  • १३ भाद्र २०७८, आईतवार प्रकाशित

  • Nabintech