राजस्व कार्यालयभित्र व्यापार, सेवाग्राही मर्कामा

असल शासन प्रतिनिधि

जुम्ला/सरकारी हाताभित्र कुनै पनि प्रकारको व्यापार व्यवसाय गर्न नपाउने कानुनी प्रावधान रहे पनि जुम्लास्थित एक सरकारी कार्यालय भित्र निर्बाध रुपमा सेवाको नाममा व्यापार भइरहेको पाइएको छ । कुरा आन्तरिक राजस्व कार्यालय जुम्लाको हो, जहाँ कार्यालय परिसरभित्र हेल्पडेस्क सञ्चालन गरी सेवाग्राहीहरुबाट रकम असुली भइरहेको छ । कार्यालय परिसरमा सेवा प्रवाह गरेबापत रेट लिष्टनै टाँस गरी सेवाग्राहीहरुबाट चर्को रकम असुली भइरहेको पाइएको छ । प्राप्त जानकारी अनुसार, सेवाग्राहीहरुलाई सहयोग गर्ने गरी जुम्ला उद्योग बाणिज्य संघले सम्बन्धित कार्यालयको अनुमति लिएर उक्त डेस्क सञ्चालन गरेको छ ।

सेवाग्राहीको सहजताका लागि सञ्चालन गरिएको हेल्पडेस्कबाट निवेदन लेख्ने, फारम भर्ने, फोटोकपी गर्नेलगायतका नाममा १ सयदेखि ५०० सम्म रकम लिन थालेपछि सेवाग्राहीहरु मर्कामा परेका छन् । जुम्ला उद्योग वाणिज्य संघले हेल्पडेस्क भएकै स्थानमा कार्यालयको लेटर प्याडमा नै सेवाको विवरण र सेवा शुल्क निर्धारण गरिएको भनी सूचना टाँस गरेको छ ।

उक्त सुचनामा नयाँ फर्म दर्तामा १ सय ५०, ३०० र ५००, डे. १ इन्ट्री गरेबापत १००, डे. २ इन्ट्री गरेबापत १००, डे. ३ इन्ट्री गरेबापत ५००, अन्तशुल्क नवीकरण गरेबापत १००, भ्याट विवरण इन्ट्री गरेबापत १०० र करचुक्ता निकालेबापत १०० शुल्क तिर्नुपर्ने उल्लेख छ । यसका अलावा उक्त डेस्क मार्फत् फोटोकपी, प्रिन्टलगायतको काम गरेबापत समेत शुल्क लिने गरेको पाइएको छ ।

यसरी राजस्व कार्यालय हाताभित्र नै शुल्क निर्धारण गरी सेवाग्राहीलाई निर्धारित शुल्क तिर्न बाध्य बनाएको सेवाग्राहीको गुनासो छ । एक सेवाग्राहीले नाम नछाप्ने सर्तमा बाहिर सस्तो शुल्कमा काम हुने भए पनि कार्यालय हाताभित्र डेस्क राखेका कारण बढी शुल्क तिर्नु परेको गुनासो असल शासनसँग गरे ।


आन्तरिक राजस्व कार्यलयका सम्पूर्ण काम डिजिटल प्रविधिमार्फत हुने भने पनि राजस्व कार्यालय जुम्लाका सेवाग्राहीले भने उक्त कुराको महसुस गर्न पाएका छैनन् । सहायता कक्षमा बस्ने कर्मचारीले कहिलेकाही सेवाग्राही हेरेर बढी शुल्क पनि लिने गरेको एक महिला सेवाग्राहीले गुनासो गरिन् । नयाँ व्यवसाय दर्ता गर्न र श्रीमानको नाम भएको फर्म बन्द गर्ने प्रयोजनले जादा सहायता कक्षका कर्मचारीले एक हजार रुपैयाँ मागेको र आफूसँग त्यति धेरै रकम नभएपछि सात सय रुपैयाँ दिएको उनले बताइन् ।

सेवाग्राहीको काम गर्दा निर्धारण गरिएको शुल्क लिएर काम गरिरहेको हेल्पडेस्कमा कार्यरत कर्मचारी रोजिना रावतले बताइन् । व्यवसायीको हकहितका लागि भन्दै स्थापना गरिएको उद्योग वाणिज्य संघले नयाँ व्यवसायीलाई सहयोग गर्नु पर्ने ठाउँमा यसरी सरकारी कार्यालयभित्रै सहायता कक्ष स्थापना गरेर रकम असुली गर्न थालेपछि नयाँ व्यवसायी रुष्ट बनेका छन् ।

यस विषयमा अधिवक्ता लोकबहादुर शाहले सरकारी कार्यालयको हाताभित्र सशुल्क डेस्क राख्न नमिल्ने बताए । कार्यालयका सेवाग्राहीहरुलाई सम्पूर्ण सेवा प्रवाह गर्नु कार्यालयको दायित्व रहेको उनको भनाइ थियो । यस विषयमा आन्तरिक राजस्व कार्यालय जुम्लाका प्रमुख हिमालय बमले कार्यालयकै अनुमतिमा डेस्क सञ्चालन भइरहेको बताए । उनले विकट ठाउँ भएकाले सेवाग्राहीबाट शुल्क लिएर डेस्क सञ्चालन गर्न दिएको भन्ने गैर जिम्मेवार जवाफ असल शासनलाई दिए । डेस्क र सेवाबापत लिइएको शुल्कका बारेमा राम्रोसँग जानकारी भएको र सो कार्य बैधानिक नै भएको उनको तर्क थियो ।

यस विषयमा जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले कुनै पनि सरकारी कार्यालयको हाताभित्र सेवाग्राहीबाट शुल्क लिएर सेवा प्रवाह गर्न नपाइने बताए । उनले तत्काल यस विषयमा उक्त कार्यालयको अनुगमन गरी सत्य तथ्य बुझ्ने र आवश्यक कारबाही अगाडि बढाउने प्रतिबद्धता गरिन् ।

  • १८ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech