बाँकेमा ४ किलो २१.४९ ग्राम सुनसहित दुई पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज– बाँकेमा ४ किलो २१.४९ ग्राम सुनसहित दुई पक्राउ परेका छन् । काठमाडौंबाट श्री एयरबाट नेपालगन्ज आएका उनीहरु विमानस्थलबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा झापा खादुनावारी गा.बि.स वडा नं. ६ बस्ने २६ वर्षीय अमिर लगुन विश्वकर्मा र मोरङ लेटाङ गावि.स.वडा नं २ बस्ने २६ वर्षीय बुद्दीमान खाती रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन् ।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार उनीहरुले लगाएको जुत्तामा उक्त सुन लुकाएर ल्याएका थिए । सुन ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा उनीहरुको साथबाट सुन बरामद भएको अधिकारीले जानकारी दिए ।

पक्राउ परेका अमिरले लगाएको दायाँ /बायाँ जुत्तामा २/२ पिस विस्कुट र बुद्धिमान खातीले लगाएको दाँया /बायाँ जुत्ताको तलुवामा १/१ पिस गरी ६ थान सुनको विस्कुट फेला परेको थियो । जसको तौल तीन किलो ९९४ ग्राम रहेको छ । त्यस्तै बुद्धिमान खातीले बोकेको लेदरको कालो रंगको झोला चेकजाँच गर्दा २७.४९ ग्राम तौलको १ थान तिलहरी, १ थान बाला, गणेश लकेट ५ थान फेला परेको थियो ।

पक्राउ परेका खाती र विश्वकर्माले भने उक्त सुन आफूहरुको वैद्य सुन रहेको बताएका छन् । उनीहरुले सुन खरिदको बिल देखाएपछि घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताएका छन् । सुन वैद्य हो या अवैद्य भन्नेबारेमा अनुसन्धानपछि मात्रै भन्न सकिने उनले बताए ।

  • १८ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech