निम्न र मध्यम वर्गलाई लक्षित गरेर खुल्यो अन्नपूर्णा मार्ट

असल शासन प्रतिनिधि

२० प्रतिशतसम्म छुट

काठमाडौं– काठमाडौंको टोखा नगरपालिका–७ बसुन्धारा चौकीमा अन्नपूर्णा स्टोर्स प्रालि(मार्ट) ले सुपथ मूल्यमा दैनिक उपभोग्य खाद्य र ग्रोसरी सामाग्रीको बिक्री सेवा सुभारम्भ गरेको छ । निम्न र मध्यम वर्गीय सर्वसाधारणलाई लक्षित गरी मार्टबाट सेवा सुचारु गरेको कम्पनीले जनाएको छ । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले शनिबार मार्टको उद्घाटन गरे । मार्ट उद्घाटन गर्दै मेयर अधिकारीले टोखाका सबै वडामा स्थानीयलाई सुपथ मूल्यमा वर्षैभरी सेवा दिनेगरी साझा पसल संचालनमा ल्याउने बताए । अन्नपूर्ण मार्टसँग सहकार्य गरेर साझा पसल अवधारणा सफल पार्न सकिने अधिकारीले बताए । मार्ट उद्घाटन कार्यक्रममा टोखा वडा नम्बर ७ का वडाध्यक्ष नरोत्तम रानाले सुपथ मूल्यमा सेवा दिन मार्ट सफल हुने विश्वास व्यक्त गरेको बताए ।

मार्टबाट होलसेल(सुपथ) दररेटमा निम्न र मध्यम वर्गीय सर्वसाधारणलाई दैनिक उपभोग्य खाद्य सामाग्री र ग्रोसरी सामाग्री खुद्रामा उपलब्ध गराउने मार्टका प्रमुख दीपक न्यौपानेले जानकारी दिए । मार्टले अन्य मार्टहरुमा भन्दा पनि सस्तोमा गुणस्तरीय सामाग्री उपलब्ध हुने र मार्टमा आएर उक्त अनुभव गर्न सकिने सञ्चालक इश्वरदत्त जैसवालले बताए । कम्पनीले भैरहवामा २ मार्टहरु संचालनमा ल्याएको जनाएको छ । काठमाडौंका विभिन्न ५ स्थानमा थप आउलेट स्थापना गर्ने प्रमुख न्यौपानेले बताए । मार्टमा आउने ग्राहकले अन्य मार्टमा भन्दा सस्तोमा गुणस्तरीय सामाग्री उपलब्ध रहेको प्रतिक्रिया दिएका छन् र यसको निरन्तरताको माग गरेका छन् । यस्तै मार्टले ग्राहकको विश्वसनियतालाई पहिलो प्राथमिकता दिने मार्टका अर्का सञ्चालक राजकुमार जैसवालको भनाइ छ ।

सञ्चालकहरुले यस्ता मार्टहरुमा कृषिसँग सम्बन्धी डेरी प्रोडक्ट लगायत राख्नका लागि आवश्यक सहजीकरण गरिदिन सरकारसँग माग गरेका छन् । मार्टमा हरेक सामानमा विशेष छुट रहेको र चाडपर्वको अवसर पारेर ३ हजार रुपैयाँसम्मको खरिदमा १ केजी चिनी सित्तैमा र ५ हजार रुपैयाँसम्मको खरिदमा २ केजी चिनी सित्तैमा अफर पनि सार्वजनिक गरेको छ । मार्टमा उपलब्ध सामाग्रीहरु अन्य स्थानमा भन्दा ५ देखि २० प्रतिशतसम्म सस्तो रहेको सञ्चालक इश्वर जैसवालले जानकारी दिए । अधिकत्तम खुद्रा मूल्यभन्दा पनि सस्तोमा सम्पूर्ण सामाग्री मार्टमा उपलब्ध रहेको कम्पनीको दाबी छ ।

  • २० भाद्र २०७८, आईतवार प्रकाशित

  • Nabintech