नेपालगञ्जमा वायु प्रदुषण बढ्दो, टेरेनन् उद्योगीहरुले अदालतको आदेश

असल शासन प्रतिनिधि

नेपालगञ्ज/नेपालगञ्ज औद्योगिक क्षेत्र भित्र रहेका बिभिन्न उद्योग, कल, कारखानाबाट बायु प्रदुषण भईरहेको छ । जसबाट स्थानीयहरुको स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको छ ।

बर्षाैं पहिले मानव वस्ति नहुँदा स्थापना गरिएको नेपालगञ्ज औद्योगिक क्षेत्र भित्र रहेका केही उद्योगहरुबाट दिनहुँ प्रदुषण उत्पादन भईरहेको छ ।

नेपालगञ्जको सुर्खेतरोडमा रहेको औद्योगिक क्षेत्र हाल नेपालगञ्जको बिच भागमा अवस्थित छ । जसको वरिपरी घनाबस्ति छन्, अस्पताल, बिद्यालय लगायतका क्षेत्रहरुसँगै औद्योगिक क्षेत्र रहेको छ । औद्योगिक क्षेत्र भित्र रहेका केही उद्योगहरुको चिम्निबाट दिनहुँ कालो मुस्लो निस्किने गरेको छ । जसबाट बायु प्रदुषण भईरहेको छ भने कतिपय उद्योगहरुबाट ध्वनी प्रदुषण समेत भईरहेको छ ।

जानकारी अनुसार, उद्योगहरुबाट निस्किने फोहर पदार्थ व्यवस्थित हुन सकेको छैन । फोहर तरल पदार्थ सिधै भेरी प्राविधिक शिक्षालयबाट पश्चिम हुँदै दक्षिण तर्फको ढलमा उद्योगहरुले खसाउने गरेका छन् ।

यसरी बायु प्रदुषण गर्ने उद्योगहरुमा रिजवान ईञ्जिनियरिंग वर्कशप, शिखर प्लाई उद्योग लगायत रहेका छन् । यसरी भईरहेको प्रदुषणबाट दिनहुँ स्थानीयहरुले सास्ति पाईरहेपछि उच्च अदालत नेपालगञ्जमा मुद्धा परेको थियो । अदालतले प्रदुषण नियन्त्रण गर्ने आदेश दिएको थियो । अदालतको आदेश भएको तीन बर्ष पुग्दा समेत प्रदुषण नियन्त्रण हुन सकेको छैन ।

यस बिषयमा नेपालगञ्ज आद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्ण बहादुर पुनले प्रदुषण नियन्त्रणका लागि पहल गरिरहेको बताए । उनले प्रदुषण केही उद्योगहरुमा रहेका पुराना प्रबिधिहरुका कारण भएको उल्लेख गर्दै तत्काल नयाँ प्रबिधि जोडि प्रदुषण नियन्त्रण गर्ने निर्देशन दिएको बताए ।

उनले निर्देशन दिएको बताएपनि उद्योगहरुले निर्देशनको टेरपुच्छर लगाएका छैनन्, दिनप्रतिदिन उद्योगहरुबाट प्रदुषण व्यापक रुपमा भईरहेको छ ।

औद्योगिक क्षेत्रसँग सूचना माग :

यसै बिच दैनिक रुपमा भईरहेको प्रदुषण नियन्त्रणका लागि सम्बद्ध निकायको ध्यानाकर्षण भए, नभएको बिषयमा नेपालगञ्जका युवाहरुले सूचना माग गरेका छन् ।

सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयसँग युवाहरुले सूचना माग गरेका हुन् ।

नेपालगञ्ज–१२ निवासी नमस्कार शाह, नेपालगञ्ज–१० निवासीद्धय मन भण्डारी र हेमराज भट्टले संयुक्त रुपमा सूचना माग गर्दै औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा आईतबार निबेदन दर्ता गराएका हुन् ।

निबेदकहरुले औद्योगिक क्षेत्र भित्र रहेका बिभिन्न उद्योगहरुबाट उद्योग सञ्चालन गर्दा निस्किने बायु प्रदुषण नियन्त्रणका लागि सम्मानित अदालतबाट भएको आदेश कार्यान्वयनको अवस्था बारे जानकारी माग गरेका छन् ।

यसैगरी निबेदकहरुले औद्योगिक क्षेत्रको कार्यालयसँग बायु प्रदुषण नियन्त्रणका लागि भएको प्रयास, बायु तथा अन्य प्रदुषण फैलाउने उद्योग, कलकारखानाको नाम, नामेशी बिबरण र त्यस क्षेत्र भित्र रहेका उद्योगहरुको नाम, नामेशी बिबरण माग गरेका छन् ।

  • २० भाद्र २०७८, आईतवार प्रकाशित

  • Nabintech