अतवारी पर्वमा दुई दिन स्थानीय बिदा

असल शासन प्रतिनिधि

नेपालगन्ज / थारु जातिको महान पर्व अतवारीको अवसरमा राप्ती सोनारी गाउँपालिकाले स्थानिय विदा दिएको छ ।
राप्ती सोनारी गाउँपालिकाद्धारा स्थानीय विदा सम्बन्धमा जारी गरेको सुचनामा अतवारी पर्वको अवसरमा भाद्र २७ र २८ गते दुई दिन स्थानीय विदा दिने निर्णय गरिएको उल्लेख छ । सुचनामा दुई दिन गाउँपालिकाको कार्यालय, बिषयगत शाखा, उपशाखा तथा वडा कार्यालयहरु बन्द रहने जनाएको छ ।
थारु समुदायले अतवारी पर्बको पहिलो दिन विहान ४ बजे उठेर नुहाई धुवाई गरी खाना बनाएर भाले नबास्दै तयार गरेको खाना खाईसक्ने चलन छ । भाले बासेपछि खाएको खाना अशुद्ध मानिने चलन रहेको छ । पहिलो दिन दिनभरी ब्रत बस्ने प्रचलन रहेको छ । सो समुदायमा उक्त साझँ ब्रत बसी फलफुल मात्रै खाने प्रचलन रहेको छ । दोश्रो दिन बिहान सबेरै उठेर मिठो मिठो खाना पकाउने गर्दछन् । यसरी पकाउने खानामा तिन वा पाँच प्रकारको खाना तयार गर्नुपर्ने मान्यता रहेको छ । यसरी तयार भएको खानालाई दिदि वहिनी, फुपु र आफन्तको नामबाट टपरीमा अलग्गै (अग्रासन) गर्ने र बाकि रहेको खाना खाने प्रचलन रहेको शुद्ध प्रसाद चौधरीले असल शासनलाई बताए । अतवारीको अवसरमा आफन्तहरु घरमा आउने र दिदिवहिनीको घरमा दाई भाई पुगेर खाना दिने र आफु पनि खाएर आउने चलन रहेको छ । यो पर्बलाई आफन्तहरुको बिचमा भाईचारा र सद्भाव अभिबृद्धी गर्ने पर्वको रुपमा समेत लिईन्छ । योे पर्वमा थारु समुदायका पुरुषहरु ब्रत बस्ने प्रचलन रहेको छ ।

 

  • २५ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech