बुढीगंगा गाउँपालिकामा १६ वर्षीया बालिका अध्यक्ष

असल शासन प्रतिनिधि

विराटनगर / राष्ट्रिय बाल दिवसको अवसरमा मोरङ्गको एक गाउँपालिकाले १६ बर्षिया वालिकालाई एक दिनका लागि सांकेतिक गाउँपालिका अध्यक्ष बनाउने भएकोछ ।
मोरङको बुढीगंगा गाउँपालिकाकी १६ वर्षीया सुस्मिता ऋषिदेवलाई आजका लागि सांकेतिक गाउँपालिका अध्यक्ष बनाउने भएकोहो । ५७ औँ राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर ऋषिदेवलाई अध्यक्षको जिम्मेवारी दिने जनाएको छ ।
स्थानीय सरकार र सरकारले गर्ने काम कारबाहीका बारेमा बालबालिकालाई जानकारी गराउने उद्देश्यले १६ वर्षीया बालिकालाई गाउँपालिका प्रमुखको जिम्मेवारी दिईएको बताईन्छ। सांकेतिक गाउँपालिका अध्यक्ष सुस्मिताको उपस्थितीमा गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधिहरु समेतको उपस्थितिमा छलफल एवं अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने कार्यक्रम रहेको बताईएको छ ।
गाउँ कार्यपालिकाले निर्णय नै गरी वालिकालाई अध्यक्षको प्रमाण पत्र प्रदान गर्ने निर्णय भएको भन्ने समाचारका बिषयमा बूढीगंगा गाउँपालिकाका उपाध्यक्ष अमृता कुमारी गच्छदारले त्यस्तो कुनै पनि निर्णय नभएको र वाल दिवसलाई सांकेतिक रुपमा मनाउन मात्रै लागिएको बताईन् । उनले गाउँपालिकाको सांकेतिक अध्यक्षको रुपमा दिवस मनाउने सन्दर्भमा यस्तो गरिन लागेको बताईन् । गाउँ कार्यपालिकाको बैठकले निर्णय गरेर सम्पूर्ण अधिकार सहित अध्यक्ष नियुक्त गरिन लागेको भन्ने कुरा गलत भएको उनले स्पष्ट पारेकी छिन् । बालबालिकाको क्षमता एवं नेतृत्व विकासमा टेवा पुर्याओस भन्ने उद्धेश्यले यस्ता कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

  • २९ भाद्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech