सामाजिक क्षेत्रमा अग्रसर आशिष

सानैदेखि जे सोच्थे त्यो पूरा गरेरै छाड्ने उनको बानी थियो । उनी कक्षा ६ मा पढ्दै गर्दा २०५८ सालमा प्लान नेपालको साझेदारीमा एफा नामक गैर सरकारी संस्थाले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२मा सञ्चालन गरेको बाल भेलामा सहभागी भए । उक्त भेलामा बाल क्लब गठन गर्ने कार्यक्रम थियो । समिति गठन गर्दा उनको सक्रियताका कारण उनलाई बालक्लबको सचिव पदमा सर्व सम्मत चयन गरियो ।

हेमराज भट्ट

जो कर्ममा विश्वास गर्छ उसले एक दिन अवश्य सफलता हासिल गर्छ भन्ने कुराको गतिलो उदाहरण बन्न सफल भएका छन् युवा अभियन्ता आशिष बर्मा । बुवा बिद्याराम बर्मा र आमा ज्ञानमती बर्माको न्यानो कोखबाट विक्रम संवत् २०४७ साल माघ १५ गते नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ पुरैनीमा जन्मिएका बर्मा एक मध्यम परिवारका सदस्य हुन् । हुने बिरुवाको चिल्लो पात भने झै सानैदेखि अरु बालबालिकाका भन्दा उनको सोचाइ र विचार फरक थियो । बाल्यकालदेखिनै पढाइसँगै साथीभाइसँग जमघट भई सामाजिक काम गर्न अग्रसर हुने उनको बानी थियो । जहाँ इच्छा त्यहाँ उपाय भनेझै उनले सामाजिक कार्यमा लाग्न घर परिवारको पूर्ण साथ र समर्थन पाए । काम गर्दा प्राप्त हौसला र उत्साहले लिइएको उद्देश्य फत्ते गर्न सहज हुने कुरा उनको अग्रसरता र सफलताले देखाउँछ ।

एक व्यवसायिक परिवारमा जन्मिएका बर्माका बुवाको नेपालगन्जमा राइस फ्लोर र आइस मिल सञ्चालित थियो । बुबा व्यापारी भएका कारण उनको बाल्यकाल सुखसयलमा नै बित्यो । पारिवारिक रूपमा कुनै पनि प्रकारको अभावको महसुस नगरेका बर्मा अन्याय र अत्याचारविरुद्ध क्रान्तिकारी विचारका थिए । उनी बालबालिकामाथि हुने अन्याय र अत्याचारविरुद्ध सानैदेखि विरोध गर्दथे । विद्यालय पढ्दै गर्दा बाल अधिकारका बारेमा जानकारी हासिल गरेका उनलाई बालबालिकाकाको अधिकार प्रवद्र्धन गर्नु पर्छ भन्ने कुरा महसुस भएपछि बाल क्लबमा आबद्ध भई बाल अधिकारका लागि अग्रसर भए । परिवारको जेठो छोरा भएका कारण उनका बुवाले छोरालाई तत्कालीन समयमा उत्कृष्ट मानिएको जय बागेश्वरी बोडिङ स्कुलमा भर्ना गरेका थिए । उनी अध्ययन गर्दा तत्कालीन समयमा नेपालमा जनयुद्ध चलिरहेको थियो । सशस्त्र जनयुद्धमा विभिन्न कारणले निजी विद्यालयहरु बन्द हुने अवस्थामा थिए जसका कारण उनले अध्ययन गरिरहेको विद्यालय छोड्नु पर्ने अवस्था सिर्जना भयो । नभन्दै कक्षा ६ पास गरेपछि उनी जय बागेश्वरी छोडेर नेपालगन्जस्थित सामुदायिक विद्यालय नारायण माविमा भर्ना भए । उनले उक्त विद्यालयमा कक्षा १० सम्म अध्ययन गरे । विगतका दिनहरु स्मरण गर्दै उनी भन्छन्,‘ निजी विद्यालयबाट सामुदायिक विद्यालय जानु नै मेरो जीवनको टर्निङ प्वाइन्ट भयो । विद्यालय परिवर्तन गर्दा मैले भोगेको समस्या, सामुदायिक विद्यालय निजी विद्यालयबीचको फरकले मलाई केही गर्न उत्सुक बनायो । एसएलसीसम्मको अध्ययनले मलाई जीवनमा संघर्ष गरेर आगाडि बढ्नु पर्छ भन्ने शिक्षा प्राप्त भयो ।’

सानैदेखि जे सोच्थे त्यो पूरा गरेरै छाड्ने उनको बानी थियो । उनी कक्षा ६ मा पढ्दै गर्दा २०५८ सालमा प्लान नेपालको साझेदारीमा एफा नामक गैर सरकारी संस्थाले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२मा सञ्चालन गरेको बाल भेलामा सहभागी भए । उक्त भेलामा बाल क्लब गठन गर्ने कार्यक्रम थियो । समिति गठन गर्दा उनको सक्रियताका कारण उनलाई बालक्लबको सचिव पदमा सर्व सम्मत चयन गरियो । पहिलोपटक समितिमा बसेर सामाजिक यात्राको शुभारम्भ उनले गरेका थिए । बाल क्लब सचिवको जिम्मेवारी पाएपछि उनलाई धेरै कुराको जानकारी भयो । उनी विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउन थाले । त्यसपछिको उनको जीवन पछाडि नफर्केरै सामाजिक अभियानहरुमा निरन्तर अगाडि बढी रहे । बर्माको सामाजिक यात्रा हेर्दा उनी विक्रम संवत् २०६१ सालमा जिल्ला बाल क्लब सञ्जाल बाँकेको संस्थापक सदस्य भए भने त्यसको एक वर्षपछि २०६२ देखि २०६४ सम्मका लागि बाँकेका बाल क्लबहरुको छाता संगठन जिल्ला बाल क्लब संजाल बाँकेको अध्यक्षको जिम्मेवारी सम्हाले । उनले बाल क्लब सञ्जालको नेतृत्वमा रहँदासम्म जिल्लाकै बाल अधिकारकर्मीको सुचिमा अग्रस्थानमा पहिचान बनाई सकेका थिए । उनमा यति धेरै काम गर्ने हौसला थियो कि बाल क्लब सञ्जालमा रहँदै गर्दा अझै धेरै काम गर्ने सोचाइ जागेर आयो र उनले आफ्नै नेतृत्वमा विक्रम संवत् २०६५ सालमा राइजिङ आइडल्स बाँके नामक गैरसरकारी संस्था दर्ता गरेर काम गर्न थाले । उनले राइजिङ आइडल्समार्फत् किशोरी, युवा तथा बालबालिकाकाको क्षेत्रमा दुई कार्यकाल अध्यक्ष भएर विक्रम संवत् २०६८ सम्म नेतृत्व गरे ।

विक्रम संवत् २०६८ सम्म आइपुग्दा उनी युवा अवस्थामा प्रवेश गरिसकेका थिए । बाल क्लबको नेतृत्वमा रहेर उत्कृष्ट कार्य गरेका उनको ध्यान बाँके जिल्लाको युवाहरुलाई संगठित गरी युवा उत्थानमा केही गर्नुपर्छ भन्नेतर्फ गयो । तत्कालीन समयमा बाँकेमा युवाहरुको नेतृत्व गर्ने कुनै सञ्जाल थिएन जसको आवश्यकता महसुस गरी विक्रम संवत् २०६७ सालमा बाँके जिल्लाका युवा क्लब तथा युवा संस्थाहरुको छाता संगठनको रुपमा जिल्ला युवा क्लब संजाल बाँके दर्ता गर्ने सहमति भयो र उक्त सञ्जालको अध्यक्षको जिम्मेवारी सर्वसम्मत रुपमा उनले निर्वाह गर्ने अवसर पाए । युवा क्लब सञ्जाल हाकी नै रहँदा विक्रम संवत्२०७० सालमा नेपाल रेडक्रस सोसाइटी उपशाखा पुरैनीको सहसचिव एक कार्यकाल हुँदै आजीवन सदस्य, विक्रम संवत् २०७५ सालमा नेपाल मानव अधिकार संगठन बाँके शाखाको कार्यसमिति सदस्य, विक्रम संवत् २०७६ देखि गैर सरकारी संस्थामहासंघ नेपाल बाँके शाखाको सचिव र राइजिङ आइडल्स बाँकेको कार्यकारी निर्देशकलगायतमा रही काम गरिरहेका छन् । भविष्यमा डाक्टर बन्ने इच्छा बोकेका बर्मा कसरी सामाजिक क्षेत्रमा जम्न पुगे भन्ने प्रश्नमा बर्माको जवाफ थियो,‘ विद्यार्थी उमेरबाट बालबालिकाको क्षेत्रमा बाल सहभागिताको राम्रो अभ्यास पाएर सामजिक कार्यबाट पाएको सन्तुष्टि र सम्मानले यो क्षेत्र नै रोज्न पुगें,’ उनी थप्छन्,‘ समाजका हरेक व्यक्तिसँग घुलमेल हुन र उनीहरुलाई सहयोग गर्ने मेरो बानी नै भइसक्यो ।’
नेपालगन्ज उपमहानगरपालिकाको वडा स्तरीय बाल क्लब सञ्जालको सचिवबाट सामाजिक यात्रा थालनी गरेका बर्माले केवल एक दशक समय सामाजिक क्षेत्रमा खर्दिदा निकै ठूलो सफलता हासिल गर्न सफल भएका छन् । हाल उनी जिल्लाकै गैरसरकारी संस्थाहरुको छाता संगठन गैर सरकारी संस्था महासंघको सचिवको जिम्मेवारीमा छन् । यति छोटो समयमा पाएको सफलता र सामाजिक क्षेत्रमा लाग्ने प्रेरणा कसरी प्राप्त भयो भन्ने प्रश्न गर्दा उनी यसको श्रेय आफ्नो परिवारलाई दिन्छन् । परिवारबाट पाएको सहयोग र हौसला तथा बुवाले गरेको सामाजिक कार्यको प्रतिफल नै प्रेरणाको श्रोत भएको बताउँछन् ।

सामाजिक कार्य गर्दा गर्दै अध्ययनलाई समेत सँगसँगै अगाडि बढाउन भ्याएका उनले प्राथमिक तह जय बागेश्वरी मावि नेपालगन्ज, एसएलसी नारायण माध्यमिक विद्यालय नेपालगन्ज, प्लस टु आदर्श माध्यमिक विद्यालय नेपालगन्ज, समाजशास्त्रमा स्नातक र स्नातकोत्तर तह महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट पूरा गरेका छन् ।

आफ्नो जीवनको उर्वर समय सामाजिक सेवामा खर्च गरेका बर्माको पहिचान बाल अधिकार, बाल संरक्षण र युवा अधिकारकर्मीको रुपमा स्थापित भएको छ भने आम संचार र पत्रकारिताको क्षेत्रमा समेत उनी संलग्न रहँदै आएका छन् । बाँके जिल्लामा रहेका युवा क्लब तथा युवा संस्थाहरुको संजालीकरण गरी जिल्ला युवा क्लब संजाल बाँकेको स्थापना गर्नु, राइजिङ आइडल्स बाँके र प्लान इन्टरनेशनलमार्फत् बाँके र बर्दिया जिल्लाका करिब ३०० जना युवा महिलाहरुलाई सीपमूलक तालिम प्रदान गरी रोजगरीको लागि सहयोग गर्नु, बाँकेमा युवा तथा बालबालिकाहरुको क्षेत्रमा काम गर्न युवाहरुलाई नियमित रुपमा उत्प्रेरणा प्रदान गर्नु सामाजिक जीवनको सफलता रहेको उनी बताउँछन् ।
उनले यस अवधिमा विभिन्न संस्थामा काम गरिसक्नु भएको छ जसमा सन् २०१४ बाँके युनेस्को क्लबमा आपतकालीन अवस्थामा बालबालिकाको संरक्षण परियोजनाको कार्यक्रम संयोजक, सन् २०१६ देखि २०१८ सम्म पुनः बाँके युनेस्को क्लबमा सहयात्रा परियोजना बाल संरक्षण, बालमैत्री स्थानीय शासन र शिक्षा परियोजनको कार्यक्रम संयोजक, सन् २०१९ मा नेपाल सरकार गृह मन्त्रालय र युनएनडिपीको संयुक्त परियोजना Armed Violence  Reduction And Community Security Strengthening Project (AVRSCS) नरैनापुर गाउँपालिकाको लागि सहजकर्ता र सन् २०१९ अक्टुबर २१ देखि Equal Access International मा पारसपरिक जवाफदेहिता परियोजनामा सिनियर मिडिया आउटरिच अफिसियरको रुपमा काम गरिरहेका छन् ।

सामाजिक क्षेत्रमा काम गरिरहँदा उनमा सरल स्वभाव र सहयोगी गुण भएका कारण उनलाई धेरैले मन पराउँछन् । उनले सामाजिक क्षेत्रमा गरेको योगदानका कारण आधा दर्जन बढी सम्मानहरु प्राप्त गरिसकेका छन् । उनले विक्रम संवत् २०६२ सालमा बाल दिवसको अवसरमा जिल्ला बालकल्याण समिति बाँकेबाट सम्मान, २०७४ सालमा बाँके युनेस्को क्लबबाट द्यभकत क्तबाा ब्धबचम, २०७६ सालमा महिला तथा बालबालिकाको क्षेत्रमा काम गरेबापत नेपाल प्रहरी महिला तथा बालबालिका सेवा निर्देशनलयबाट सम्मान, २०७७ सालमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट महिला तथा बालबालिकाहरुको क्षेत्रमा काम गरेबापत सम्मान, २०७८ मा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बास÷ब्राइटल्याण्ड युवा पुरस्कार २०२१ लगायत सम्मान प्राप्त गरिसकेका छन् ।

समूहका काम गर्दा आनन्दको महसुस गर्ने उनले सन् २०१३ मा भारतको न्यु दिल्लीमा सम्पन्न एशियन युथ फोरममा नेपालको तर्फबाट सहभागिता जनाएका थिए । सन् २०१९ मा भारतको कलकत्ताको शहरी गरिब बस्तीको अवलोकन भ्रमण गरिसकेका उनले नेपालका ४० बढी जिल्लाको भ्रमण गरिसकेका छन् । कुनै पनि काम गर्दा पूर्व तयारीमा विशेष ध्यान दिने बर्मा पाएको जिम्मेवारीलाई निकै मेहेनत गरेर पूरा गर्ने स्वभावका कारण आफनो कामप्रति जहिले पनि सन्तुष्ट रहने गरेको बताउँछन् ।
समय र परिस्थिति अनुसार युवाहरुको आवश्यकता र चाहनाहरु बदलिरहने भएकाले त्यसको व्यवस्थापन गर्न र सामाजिक अभियानलाई सशक्त बनाउन चुनौती रहेको उनको बुझाइ रहेको छ । बाँकेका युवाहरुको संस्थागत विकासलाई अझै सशक्त बनाउँदै युवाक्लब सञ्जालाई सोचे अनुरुप गतिसिल बनाउन नसकिएको उनी बताउँछन् । देखिएको चुनौतीलाई पूरा गर्न आगामी दिनमा थप क्रियाशील भएर सशक्त रुपमा काम गर्ने उनको प्रतिबद्धता छ ।

सामाजिक कार्य गर्नु आफैमा जटिल विषय हो त्यसमा पनि एक असल सामाजिक अभियन्ताको छवि बनाउनु झनै चुनौतीको विषय हो यस्तो चुनौतीहरुलाई छिछोल्दै सफल जीवन अगाडि बढाइरहेका बर्माको सामाजिक जीवनले थप उचाई चुम्दै जाओस् हाम्रो सुवेक्षा ।

  • २९ भाद्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech