ट्राफिक स्वयंसेवक शिब दाई

असल शासन प्रतिनिधि

पोखरा/भनिन्छ हरेक नागरिक बिना बर्दिका प्रहरी हुन् । यसको अर्थ सबै नागरिकले कानुन बमोजिम काम गर्नुपर्दछ, कानुन बमोजिम कार्य नगर्नेहरुका बिरुद्ध बोल्नुपर्दछ भन्ने हो । हो यहि कुरालाई व्यवहारमा उतारेका छन् पोखराका शिबराज बस्ताकोटीले ।

उनी बिना बर्दिका ट्राफिक प्रहरी हुन्, जसले बिगत एक दशक देखि ट्राफिक स्वयंसेवकको रुपमा काम गरिरहेका छन् । उनी न ट्राफिक प्रहरी हुन् न कसैले उनलाई ट्राफिक स्वयंसेवक बनाएको हो । स्वस्फुर्त रुपमा बिगत देखि पोखराको ट्राफिक व्यवस्थापनमा उनी अबिछिन्न खटिरहेका छन् ।

कतै जाम भयो, ट्राफिक अस्तव्यस्ता बढ्यो, कसैले ट्राफिक नियम उलँघन गर्यो कि शिबराज घाँटिमा झुण्ड्याईरहेको सिट्टि फुक्न थालिहाल्छन् । पोखरा जस्तो अति व्यस्त पर्यटकीय सहरको ट्राफिक अस्तव्यस्ता देखेर स्वस्फुर्त ट्राफिक व्यवस्थापनमा लागेको उनी बताउँछन् ।

शुरु, शुरुमा सडकको बिचमा सिट्टि फुक्दै ट्राफिक व्यवस्थापनमा खटिँदा उनलाई प्रहरी, ट्राफिक प्रहरीलेनैं रुचाएनन्, धेरैले उनलाई पागल भन्ठाने, कतिपयले उनलाई जड्याँह भन्ठाने । जसले जे भनेपनि शिबले मतलब गरेनन् र उनी निरन्तर आफ्नो कर्ममा लागिरहे ।

उनले ट्राफिक नियम पालना नगर्ने प्रहरी, प्रदेशका मूख्य मन्त्री, मन्त्री लगायतका गाडीहरु फिर्ता पठाईदिएका थिए । उनको पहलका कारण धेरै दुर्घटनाहरुबाट सवारी चालकहरु जोगिएका छन् ।

ट्राफिक व्यवस्थापनमा उनको निरन्तरको सपर्मण भावलाई सबैले प्रशंसा गरिरहेका छन् । सोही कार्य गरे बाफत गण्डकी प्रदेश सरकार, प्रदेश प्रहरी कार्यालय लगायतबाट उनले सम्मान समेत प्राप्त गरिसकेका छन् ।

प्रदेश प्रहरी कार्यालयबाट उनले ट्राफिक स्वयंसेवकको परिचय–पत्र र ज्याकेट समेत प्राप्त गरेका छन् । शिब दाईको नामले चर्चित उनी पेशाले पत्रकार हुन् । भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बासको जिल्ला अध्यक्ष रहेका शिब सूचनाको हकका अभियन्ता समेत हुन् तर उनको पहिचान र बलियो परिचय ट्राफिक स्वयंसेकनैं हो ।

आफ्नो कामको शिलशिलामा पोखरा बजारमा आफै गाडी चलाएर हिँडिरहने उनी ट्राफिक अस्तव्यवस्तता र जाम हुने बित्तिकै आफुले हाँकिरहेको गाडीलाई किनारामा लगाएर उनी सिट्टि फुक्दै व्यवस्थापनमा जुटिहाल्छन् । उनको त्यो स्वस्फुर्तता, जोश, जाँगर र निरन्तरता साँच्चिकै लोभलाग्दो र अरुका लागि प्रेरणादायी छ ।

 

  • ९ आश्विन २०७८, शनिबार प्रकाशित

  • Nabintech