अदालतको आदेश मान्दैनन् प्रदूषण फैलाउने उद्योगी

औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरुले थोर बहुत धुलो तथा धुवाँ उत्सर्जन गरिरहेको भए पनि वातावरणीय मापदण्ड अनुसार सुधार भने गर्न सकेका छैनन् ।

हेमराज भट्ट

नेपालगन्ज/ नेपालगन्ज औद्योगिक क्षेत्र भित्र सञ्चालित केही उद्योगहरुले प्रदूषित धुवाँ व्यवस्थापन गर्न अदालतले गरेको आदेश पालना गर्न अटेर गरेका छन् । औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका केही उद्योगहरुले हानिकारण धुवाँ तथा फोहोर व्यवस्थापनमा लापरबाही देखाएपछि औद्योगिक क्षेत्र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।

औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरुबाट निष्कने धुवाँ तथा फोहोर स्वास्थ्यका लागि हानिकारण रहेको भन्दै त्यसको तत्काल व्यवस्थापन गर्न अदालतले परमादेश जारी गरेको थियो । यसरी परमादेश जारी भएको झण्डै दुई वर्ष बित्नै लाग्दासमेत त्यसको कार्यान्वयन गर्न तर्फ उद्योगीहरुले लापरबाही गरिरहेका छन् । अदालतको परमादेशपछि केही उद्योगहरुले नयाँ प्रविधि जडान गरी व्यवस्थापनको प्रयास गरेको पाइएको छ भने अझै पनि बढीजसो उद्योगहरुले सुधारतर्फ चासो देखाएका छैनन् ।

जानकारी अनुसार हाल औद्योगिक क्षेत्रमा सञ्चालित बढी प्रदूषण गर्ने श्री मोडर्न डोर्स एण्ड उड प्रो प्रालि (शिखर प्लाई) ले पुरानो बोइलर प्लान्ट हटाई नयाँ प्लान्ट जडान गरिसकेको पाइएको छ । उक्त उद्योगले बोइलरबाट उत्सर्जन गरेको धुवाँलाई पानीमा फिल्टर गर्ने प्रविधि जडान गरी सुधार गरेको पाइएको छ । नयाँ प्लान्ट जडान पछि भएको वातावरणीय परीक्षणमा उक्त उद्योग अहिले वातावरणीय मापदण्डमा रहेको पाइएको छ ।

औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरुले थोर बहुत धुलो तथा धुवाँ उत्सर्जन गरिरहेको भए पनि वातावरणीय मापदण्ड अनुसार सुधार भने गर्न सकेका छैनन् ।

दुगन्धित फैलाउने धुलो र धुवाँ आउने र त्यसले आसपासका क्षेत्रमा समस्या सिर्जना हुन थालेपछि उक्त उद्योगलाई सुधारका लागि पटक पटक पत्राचार गर्दै सचेत गराइएको थियो तर उद्योगले सुधार नगरेपछि झण्डै डेढ महिनादेखि उद्योग बन्द गरिएको बताइएको छ । उक्त उद्योगबाट निष्केको धुलो धुवाँ घरहरुमा पुग्ने र दुर्गन्ध समेत फैलन थालेपछि उद्योग बन्द गरिएको बुझिएको छ । यसरी अन्य सुधारमा उद्योगले चासो नदिँदा अहिले पनि उद्योगबाट स्वास्थ्यका लागि हानिकारक धुवाँ उत्सर्जन गरिरहेका छन् ।

मापदण्ड अनुसार सुधार नल्याएको र प्रदूषण व्यवस्थापनका लागि उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासको परमादेशपछि उद्योगहरुले छाता संगठन नेपाल औद्योगिक क्षेत्र उद्योग विकास संघले पटक पटक सुधारका लागि गरेको अपिलको समेत बेवास्ता गरेको पाइएको छ । औद्योगिक क्षेत्र व्यवस्थापनको जिम्मेवारी बोकेको नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले समेत पटक पटक वातावरणीय मापदण्ड पालना गर्ने गरी उद्योगमा सुधार गर्न गरेको निर्देशनको समेत उद्योगीहरुले बेवास्ता गर्दै आएका छन् । अदालतको परमादेशसँगै नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको समेत उद्योगीहरुले बेवास्ता गरेपछि कार्यालयलाई अदालतको परामादेश कार्यान्वयन गराउनु निकै चुनौतीपूर्ण बनेको छ ।

औद्योगिक क्षेत्रबाट निष्किने प्रदूषण तथा धुलो धुवाँ व्यवस्थापन गर्ने कार्य भइरहेको नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनले बताए । अदालतको आदेश पालना गर्न र आम नागरिकहरुलाई असर नपर्ने गरी व्यवस्थापन गर्न नियमित रुपमा अनुगमन गर्ने, मासिक बैठक गरी प्रगति समीक्षा गर्नेलगायतका कार्यहरु भइरहेको प्रमुख पुनको भनाइ थियो । उनले पहिलेको तुलनामा उद्योगहरुमा सुधार हुँदै आएको बताएका छन् ।

  • १० आश्विन २०७८, आईतवार प्रकाशित

  • Nabintech