पार्किङका नाममा अवैध असुली

न त पार्किङ गर्ने ठाउँ छ न पार्किङको अनुमति नै । सडक छेउमा मनपरी रुपमा पार्किङ स्थान तोकी सो बापत चर्को मूल्य असुल्ने कार्य जमुनाहा प्रहरीकै अगाडि भइरहँदा समेत प्रहरी मौन बसेको छ ।

मुना बिष्ट

नेपालगन्ज/ नेपालगन्ज जमुनाहा सीमानाकामा पार्किङको नाममा प्रहरीकै अगाडि अवैध असुली फष्टाएको छ । कोभिड जोखिमका कारण नेपालगन्ज जमुनाहा नाकामा सवारी आवगमन बन्द भएपछि अत्यावश्यक कामले भारत जाने चालकहरुको सवारी पार्किङका नाममा अवैध असुली गरिँदै आएको हो ।

न त पार्किङ गर्ने ठाउँ छ न पार्किङको अनुमति नै । सडक छेउमा मनपरी रुपमा पार्किङ स्थान तोकी सो बापत चर्को मूल्य असुल्ने कार्य जमुनाहा प्रहरीकै अगाडि भइरहँदा समेत प्रहरी मौन बसेको छ । दैनिक सयौंको संख्यामा विभिन्न कामले भारतको रपैडिहालगायत स्थानमा जाने यात्रुहरुले मोटरसाइकललगायतका सवारी साधन पार्किङबापत प्रहरी चौकीकै छेउमा प्रति मोटरसाइकल २० रुपैयाँ स्थानीय व्यापारिलाई तिर्दै आएका छन् । भन्सार नजिक झण्डै आधा दर्जन बढी पसलले सडक छेउमा पार्किङ स्थल बनाएर अवैध रुपमा दैनिक हजारौं रुपैयाँ असुली गरिरहेका छन् ।

भन्सार नजिकै किराना पसल सञ्चालन गर्दै आएकी बेबी गुप्ताले पसल अगाडि सडक छेउमा रहेको स्थानलाई पार्किङ स्थल बनाएर रकम लिइरहेको बताइन् । उनले पार्किङ गरेबापत २० रुपैयाँ लिने गरेको र दिनमा ३० देखि ४० मोटरसाइकल पार्किङ हुने गरेको बताइन् । यसरी दैनिक औसत रुपमा उनले भनेकै आधारमा हिसाब गर्ने हो भने दैनिक पार्किङबाट मात्रै उनलाई ८ सय देखि १ हजारसम्म फाइदा हुन्छ जसको न त कर तिर्नु पर्छ न भन्सार । त्यस्तै किरान पसल सञ्चालन गरिरहेका अर्का व्यवसायी ओम प्रकाश गुप्ताको पनि दैनिकी सडकमा गुडिरहेका मोटर साइकललाई पार्किङ यता भन्दै आफ्नो पसल अगाडि पार्किङ गराउने र रकम असुल्ने कार्यमा बितिरहेको छ । उनले दिनमा २५ देखि ३० वटा मोटर साइकल पार्किङ गरेर ६ सय देखि ८ सयसम्म कमाइ गर्ने गरेका छन् । सोही स्थानका अर्का व्यावसायी मनोज शर्माले दिनमा ४० देखि ५० वटा मोटरसाइकल पार्किङ गर्ने गरेको असल शासनलाई बताए । यसरी पार्किङको आधारमा उनले संकलन गर्ने पैसाको हिसाब गर्ने हो भने दैनिक ८ सय देखि १ हजार रुपैयाँसम्म फाइदा हुने देखिन्छ । यसरी सो क्षेत्रमा व्यवसाय गरिरहेका व्यवसायीलाई बसिबसी नगद फाइदा हुन थालेपछि व्यवसाय भन्दा पार्किङ प्राथमिकीकरणमा पर्न थालेको छ ।

सीमानाकामा अवैधानिक रुपमा पार्किङ गर्ने सवारी चालकहरुले भने सवारीको सुरक्षा हुने भएकाले ठिकै गरेको प्रतिक्रिया दिएका छन् । पार्किङका विषयमा रुपैडिहा पुगेर फर्किदै गरेका नेपालगन्ज उपमहानगरपालिका १२ मा सन्देश पुन मगर, हरि बुढा र नेपालगन्ज ९ निवासी राजेश बर्माले पार्किङले सवारी साधनलाई सुरक्षित बनाएको बताए । व्यवसायीले आफूले मनमर्जीले पार्किङ गर्ने भन्दा पनि उपमहानगरपालिकाले वैधानिक बाटोबाट सार्वजनिक रुपमा पार्किङको व्यवस्थापन गर्नु पर्नेमा उनीहरुको जोड थियो ।

यसरी दैनिक रुपमा सयौंको सख्यामा भारतको रुपैडिहा जाने यात्रुहरुको सवारी पार्किङले जमुनाहा सवारी पार्किङ स्थल जस्तै भएको छ । प्रहरीकै अगाडि अवैध रुपमा स्थानीय व्यवसायीहरुले रकम असुली गरिरहेको भए पनि त्यस बारेमा प्रहरीले कुनै चसो देखाएको छैन । अवैध रुपमा पार्किङको नाममा अवैध असुली भइरहँदा समेत किन बोल्दैन प्रहरी भन्ने विषयमा पार्किङ गर्ने व्यवसायी र प्रहरीका बीचमा आन्तरिक सेटिङ भएको हुन सक्ने श्रोतको दाबी छ ।

यसरी भइरहेको अवैध पार्किङका विषयमा जमुनाहा प्रहरी चौकीका डिबी खड्काले स्थानीय सरकारको अनुमतिबिना शुल्क लिन नहुने बताए । उनले स्थानीय सरकारले भइरहेको कार्यमा कुनै किसिमको पहल नगरेकाले व्यवसायी थप उत्साहित भएको जनाए । पार्किङ हटाउन आदेश आएमा तत्काल पार्किङ खाली गर्न सकिने खड्काले असल शासन पोष्टलाई बताए ।

अवैध पार्किङका विषयमा नियमन गर्ने निकाय नेपालगन्ज उपमहानगरपालिकाका उप प्रमुख उमा थापा मगरले सो बारेमा जानकारी नभएको बताइन् । यदि यस्तो भएको हो भने अनुमतिबिना सशुल्क पार्किङ गर्न नहुने भन्दै तत्काल नगर प्रहरी खटाएर अवस्थाको बारेमा बुझ्ने प्रतिबद्धता गरिन् । यसैगरी नेपालगन्ज उपमहानगरपालिका राजस्व शाखा प्रमुख वीरबहादुर थापा मगरले अनुमतिबिना पार्किङ गर्न नुहुने बताए ।

  • १० आश्विन २०७८, आईतवार प्रकाशित

  • Nabintech