बढैयातालमा तनावका कारण २२ जनाले गरे आत्महत्या

असल शासन प्रतिनिधि

बर्दिया / बर्दियाको बढैयाताल गाउँपालिकामा कोभिडको समयमा २२ जनाले आत्महत्या गरेको तथ्य बाहिर आएको छ ।
बढैयाताल गाँउपालिकाका कोभिड सक्रमणको समयमा मानसिक स्वास्थ्य समस्या विकराल बन्दै गएको र मानसिक स्वास्थ्य बिग्रीनु लगायतका कारणले ११ जना पुरुष र ११ जना महिलाले आत्महत्या गरेको तथ्य बाहिर आएको छ ।
मनोसामाजिक मानसिक स्वास्थ्यलाई स्थानिय तहमा समाहित गर्ने विषयमा भएको कार्यशाला गोष्ठीका सहभागिहरुले बढैयाताल गाँउपालिकामा मेन्टल स्वास्थ्यको समस्या विकराल बन्दै गएको बताएका छन् । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकर प्रसाद थारुले भौतिक संरचनासंगै मानसिक स्वास्थ्यका लागि बजेट विनियोजन गर्न गाउँपालिकालाई आग्रह गरेका छन्। यसैगरी कार्यक्रममा बोल्दै बढैयाताल गाँउपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले ४ वर्षमा ४ हजार भन्दा बढी व्यक्तिहरुको क्षमता विकास गरेको बताए । मानसिक समस्या पछिल्लो सयमा बढ्दै गएको भन्दै तत्काल बजेटको ब्यवस्थापन गरी कार्यक्रम संचालन गर्ने प्रतिबद्धता गरे ।
यस्तै गाँउपालिकाका उपाध्यक्ष दिपा कुमारी गौमतले समाजमा हुने बिभेदले मानिसमा मानसिक समस्या सृजना हुने गरेको बताउदै जनप्रतिनिधिहरुलाई पहिलो चरणमा मानसिक स्वास्थ्यका बारेमा तालिम दिन जरुरी रहेको अनुभव सुनाईन् । कार्यक्रममा बढैयाताल गाँउपालिका स्वास्थ्य शाखाका रमेश पौडेल, रोजगार संयोजक सरस्वती थारु लगायतले बोलेका थिए । कार्यक्रममा गाँउपालिकाका पदाधिकारी, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
गोष्ठीमा मनोविज्ञ प्रा.डा. शिशिर शुब्बा, टिपिओका कार्यक्रम संयोजक पिताम्बर कोइराला, टिपिओका प्राविधिक सल्लाहकार सुरज कोइरालाले मानसिक स्वास्थ्यका बारेमा सहजिकरण गरेका थिए । गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकर प्रसाद थारु, लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम बहुसांस्कृतिक मनोसामाजिक संस्था नेपाल (टिपोओ) को आयोजनामा मंगलबार बढैयातालमा भएको थियो ।

  • १२ आश्विन २०७८, मंगलवार प्रकाशित

  • Nabintech