एसपी र डिएसपीले गरे मुख छोपेर अनुगमन

जमुनाहाका १७ प्रहरी जिल्ला तानिए

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्जको जमुनाहा नाकामा खटिएका प्रहरीहरुले नेपालीहरुबाट रकम असुल्ने गरेको र दुख दिने गरेको विषय नयाँ होइन । भारतबाट जमुनाहा नाका हुँदै आउने यात्रुहरुलाई चेकचाँचको नाममा दुख दिने गरेको र अवैध रकम असुल गर्ने गरेको समाचारहरु पटक पटक संचार माध्यामहरुमा आउने गरेका छन् ।

राजश्व चुहावट नियन्त्रण र सुरक्षा चेकजाँचका लागि खटाइएका सुरक्षकर्मि नै खुलेआम रुपमा अवैध रकम असुलीमा मस्त बन्ने गरेको, राजश्व चुहावट, नियन्त्रण र सुरक्षा जाँचका लागि सरकारले खडा गरेको चेकपोष्टलाई प्रहरीले अवैध रकम असुल गर्ने अखडा बनाउँदै आएको लगायतका आरोप लाग्ने गरेका छन् । पटक पटक यस्तो प्रकारको आरोप लाग्न थालेपछि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख श्यामकृष्ण अधिकारी र डिएसपी मधुसुदन न्यौपानेले नयाँ अभियान थालेका छन् । अभियान अन्तर्गत बुधबार एसपी अधिकारी र डिएसपी न्यौपानेले मुख छोपेर सादा पोशाकमा नाकाको अनुगमन गरेका छन् । अनुगमनको क्रममा नेपालगन्जको जमुनाह प्रहरी चौकीबाट १७ जना प्रहरी जिल्ला तानिएका छन् ।

नाकामा खटिएका प्रहरीबाट सन्तोषजनक काम नभएको पाइएपछि प्रहरी हवल्दार सहित १७ जनालाई जिल्ला तानिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता मधुसूदन न्यौपानेले बताए । सिमा क्षेत्रमा आवत जावत तथा सुरक्षा ब्यवस्थापन गर्न नसकेको र नागरिकबाट गुनासो आउन थालेपछि जिल्ला प्रहरी कार्यालय बाँकेले एकैदिन १७ जना प्रहरीलाई जिल्ला तानिएको हो । जमुनाहा प्रहरी चौकी ईन्चार्ज पूर्ण केसी बाहेक अन्य १७ जनालाई जिल्लामा तानेर उनीहरुको ठाउँमा नयाँ प्रहरी पठाइएको बाँके प्रहरीले जनाएको छ ।

  • १३ आश्विन २०७८, बुधबार प्रकाशित

  • Nabintech