न्यू डाँफे र नवदुर्गा युथ क्लब विजयी

असल शासन प्रतिनिधि

नेपालगञ्ज / नेपालगञ्ज रंगशालामा जारी प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगितामा न्यू डाँफे स्पोर्टस क्लव र नवदुर्गा युथ क्लव विजयी भएका छन् ।
आईतबार नेपालगन्ज रंगशालामा भएको खेलमा न्यू डाँफेले सिटी युथ क्लव र नवदुर्गाले दंगा प्रहरीलाई पराजित गरेको हो । पहिलो खेलमा न्यू डाँफेले सन्देश गुरुङको ह्याट्रिकसहित सिटी युथलाई ५–० गोलले पराजित गरेको थियो । एकतर्फी भएको खेलमा न्यू डाँफेले २७ मिनेटमा सन्देशको गोलबाट अग्रता लिएको थियो । ४७ र ८० मिनेटमा गोल थप्दै सन्देशले ह्याट्रिक गरे । न्यू डाँफेका दिपेन्द्रराज सिंहले ५६ र विमल बस्नेतले ६२ मिनेटमा गोल गरेका थिए । खेलमा न्यू डाँफेका सन्देश म्यान अफ द म्याच घोषित भएका थिए । उनलाई एन्फाका पूर्व उपाध्यक्ष गोवद्र्धनसिंह सम्झनाले ट्रफी प्रदान गरेका थिए ।


यसैगरी दोश्रो खेलमा नवदुर्गाले दंगा प्रहरीलाई ३–२ गोलले पराजित गरेको छ । दंगा प्रहरीले शुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । दंगाका शंकर थापाले ४ मिनेटमै गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । प्रतिस्पर्धात्मक खेलमा नवदुर्गाका विनोद बुढाथोकीले ६ मिनेटमै गोल फर्काएर टीमलाई बराबरीमा ल्याए । बराबरी गोल फर्काएसँगै नवदुर्गा हावी भएको थियो । नवदुर्गाका प्रेमप्रकाश क्षेत्रीले १२ र नेमा हमालले १५ मिनेटमा गोल गरेका थिए । दंगाका तर्फबाट शंकर थापाले ५५ मिनेटमा अर्को गोल थपेका थिए । उक्त खेलमा नवदुर्गाका विनोद बुढाथोकी म्यान अफ द म्याच घोषित भएका थिए । उनलाई दंगा प्रहरी गणका एसपी रामप्रकाश शाहले ट्रफी प्रदान गरेका थिए ।
असोज २१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैया र द्वितिय हुनेलाई ५१ हजार १ सय ११ रुपैया, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
यसैगरी प्रतियोगिता अन्तरगत सोमबार तीन खेल हुनेछन् । पहिलो खेल विहान ७ बजे नेपाली सेनाको भैरवप्रसाद गण, राँझाविरुद्ध युनाइटेड क्लव, दोस्रो खेल रेसिङ साहराविरुद्ध न्यू डाँफे र तेस्रो खेल रोयल नेपालगञ्ज फुटबल क्लवविरुद्ध धम्बोझी क्लवले खेल्ने आयोजकले जनाएको छ ।

 

  • १८ आश्विन २०७८, सोमबार प्रकाशित

  • Nabintech