शुदुरपश्चिम प्रदेशमा मात्रै ३१ जनाको मृत्यु

असल शासन प्रतिनिधि

नेपालगन्ज/ अबिरल बर्षाका कारण आएको बाढी र पहिरोबाट शुदुरपश्चिम प्रदेशमा मात्रै ३१ जनाको ज्यान गएको छ । मनसुन सकिएपछि आएको भारी वर्षाका कारण बाढीपहिरोमा परी बिहिबार सम्म शुदुरपश्चिममा मृत्यु हुनेको संख्या ३१ पुगेको छ । आइतबारबाट सुरु भएको अविरल वर्षा मंगलबार सम्म कायम रहेको थियो ।

बाढी तथा पहिरोमा परी डोटिको जोरायल गाउँपालिकाका ७, सायल गाउँपालिकाका ७, शिखर नगरपालिकाका १ र बडिकेदार गाउँपालिकाका १, बैतडीको शिवनाथ गाउँपालिकाका ३, शुर्नया नगरपालिकाका १, डडेलधुराको गन्यापधुरा गाउँपालिकाका २, बझाङको खप्तडछान्ना गाउँपालिकाका ६, थलारा गाउँपालिकाका २, कैलालीको टिकापुर नगरपालिकाका १ गरी जम्म ३१ जनाको मृत्यु भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले जानकारी दिएको छ ।

बाढी तथा पहिरोको कारण शुदुरपश्चिम प्रदेशका बिभिन्न जिल्लाका १७ जना घाइते भएका छन् भने २३ जना बेपत्ता छन् । बाढि पहिरोको कारण शुदुरपश्चिमको अधिकाँस क्षेत्रमा सडक अवरुद्ध हुँदा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् भने टेलिफोन तथा ईन्टरनेट सेवा आंशिक रुपमा सुचारु भएको छ । सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने धनगढी–डडेलधुरा राजमार्ग र अन्य सडकमा पहिरो खस्दा यातायात सेवा ठप्प भएको छ । धनगढी–डडेलधुरा राजमार्ग, बैतडीको खोडपेदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग, बैतडी दार्चुला जोड्ने महाकाली राजमार्ग तथा डडेलधुरा–डोटी, डोटी–अछाम र अछाम–बाजुराको मार्तडी राजमार्गको विभिन्न सडक खण्डका ठाउँठाउँमा सानाठूला पहिरो खसेर तीन दिनदेखि यातायात सेवा ठप्प भएको छ ।

  • ४ कार्तिक २०७८, बिहीबार प्रकाशित

  • Nabintech