कर्णाली प्रदेशमा दिगो विकास कार्यान्वयनको अवस्था कमजोर

असल शासन प्रतिनिधि

सुर्खेत / कर्णाली प्रदेशमा दिगो विकास कार्यान्वयनको अवस्था कमजोर रहेको औल्याईएको छ ।
युथ एडभोकेसी नेपालको आयोजना, बास नेपालको स्थानीय संयोजन, भिएसओ नेपाल र लिभ नो वन विहेण्ड अभियानको सहकार्यमा सुर्खेतको बिरेन्द्रनगरमा कार्तिक १५ गते भएको बहुपक्षीय संवादका सहभागिहरुले यस्तो औल्याएका हुन् ।


कार्यक्रममा बोल्दै सहभागिहरुले विकासमा देशकै कमजोर अवस्थामा रहेको कर्णालीमा दिगो विकासको कार्यान्वयनको अवस्था समेत कमजोर रहेको बताएका हुन् । कर्णाली प्रदेश सरकार र मातहतमा स्थानीयतहहरुले दिगो विकासका लक्ष्यहरुको बारेमा जानकारी समेत नभएको र सरकारले दिगो विकासका लक्ष्यहरुको मापन समेत नगरेका कारण अवस्थाको आकलन गर्न नसकिने बताए ।


कार्यक्रमको खुल्ला छलफलमा बोल्दै मध्यपश्चिम विश्व विद्यालयमा पूर्ब डिन पिताम्बर ढकालले दिगो विकासको कार्यान्वयनमा सबै सरोकारवालाहरु जिम्मेवार हुन जरुरी रहेको बताए । यस्तै राष्ट्रिय युवा महासँघ नेपालका उपाध्यक्ष त्रिभुवन बिसीले दिगो विकासको लक्ष्य कार्यान्वयका लागि सामुहिक जनचेतनाको खाचो रहेको बताए । ईन्सेकका प्रतिनिधि टिका बिष्टले दिगो विकासको अवस्था कहाँ छ भन्ने कुरा कर्णाली प्रदेशमा एकिन गर्न सकिने अवस्था नरहेको बताईन् । दिगो विकासका बारेमा स्थानीय तहका प्रतिनिधिलाई समेत जानकारी नभएको भन्दै कार्यान्वयनलाई प्रभावकारी बनाउन जनप्रतिनिधि, राजनितिक दल लगायत सबैलाई जानकारी गराउन जरुरी रहेको उनले बताईन् । त्यसैगरी कार्यक्रमका सहभागि आयोनका प्रतिनिधि रेखा ओलीले कर्णाली प्रदेशमा कुनै पनि पालिकाहरुले हाल सम्म समेत युवा निति बनाउन नसकेको बताउदै दिगो विकास कार्यान्वयनमा प्रदेश कमजोर अवस्थामा रहेको बताईन् । कर्णाली प्रदेशमा दिगो विकासका लक्ष्यहरुका बारेमा ब्यापक जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको सहभागिहरुको भनाई थियो ।


कार्यक्रमको शुरुवातमा दिगो विकासका लक्ष्यहरुका बारेमा बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी गराएका थिए भने कार्यक्रममा स्वागत युथ एड्भोकेसी नेपालका महासचिब गिता चौधरीले गरेकी थिईन् । बास सुर्खेत शाखाका अध्यक्ष जनत जनाला बिकले सञ्चालन गरेको कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन्द्र खतिवडाले गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत ३० बढी युवाहरुको सहभागिता रहेको थियो ।

  • १६ कार्तिक २०७८, मंगलवार प्रकाशित

  • Nabintech