बागेश्वरीमा ११ हजार महादीप प्रज्वलन

पुजा कुमारी वैश्य

नेपालगन्ज/जय सियाराम युवा क्लब नेपालगन्जले बागेश्वरी मन्दिरमा ११ हजार दीप प्रज्वलन गरेको छ ।

उक्त महादिपोत्सवको उद्घाटन नेपालगन्जका उपमहानगरपालिका मेयर डाक्टर धवल शमशेर राणाले दीप बालेर गरेका थिए । कार्यक्रम उद्घाटन गर्दै नगर प्रमुख राणाले एघार हजार दीप प्रज्ज्वलनले सबै हिन्दुधर्मावलम्बी भक्तहरुमा धार्मिक तथा मानसिक उर्जा प्रदान हुने बताए ।

बागेश्वरी मन्दिरमा उपस्थित सम्पुर्ण भक्तहरुले दीप प्रज्ज्वलन गरी मन्दिरलाई दियोको प्रकाशले जगमगाएका थिए । चारै तर्फ प्रज्वलन गरिएको दिप मनमोहक र लोभलाग्दो थियो ।

सनातन हिन्दु धर्मका देवता रामले वनवासको अवधि समाप्त गरेर अयोध्या फर्किएको खुसीमा दियो बाली स्वागत गर्ने प्रचलन अनुरुप पहिलो पटक तिहारको धनवन्तरी जयन्ती (धन्तेरस) को दिन मंगलबार बागेश्वरी मन्दिर परिसरमा महादीप प्रज्वलन गरिएको हो ।

दीपको अर्थ यसको ज्वालाबाट उत्पन्न हुने प्रकाश मात्र होइन, यसको पछाडि हाम्रो विवेकको आध्यात्मिक अनुभूति र भावनात्मक लगाव पनि जोडिएको हुन्छ । दीप  हाम्रो भित्री आँखाको प्रतिबिम्ब पनि हो, जसले निरन्तर हाम्रो भौतिक र आध्यात्मिक विभागहरू बीच समन्वयको पुलको रूपमा काम गर्दछ। दीप को सधैं जलिरहेको ज्वालाले हाम्रो आत्मासँग प्रत्यक्ष सम्पर्क र संवाद स्थापित गर्ने अनुभूति दिन्छ । सनातन हिन्दु धर्मका अनुयायीहरूले हरेक दिन आफ्नो घरमा दियो बाल्ने गर्छन् ।

हिन्दु धर्ममा दीप प्रज्ज्वलन गरेर मात्र भगवानको पूजा गरिन्छ । आत्मालाई भगवानसँग जोड्न वा उहाँको पूजा गर्न दीप प्रज्वलन गर्ने गरिन्छ । परिवारमा बिहान बेलुका दियो बाल्ने चलन छ ।

दीप प्रज्वलन गर्नु शुभ हो र यसले हामीलाई राम्रो स्वास्थ्य र समृद्धि प्रदान गर्दछ। हामीले यस्तो दियोको ज्योतिलाई नमन गर्नु पर्छ । जसले शुभ, कल्याण, स्वास्थ्य, धनको रक्षा गर्ने र शत्रुको बुद्धिको विनाश गर्दछ ।

  • १७ कार्तिक २०७८, बुधबार प्रकाशित

  • Nabintech