दुर्घटनामा परी एकैदिन १४ जनाको मृत्यु

असल शासन प्रतिनिधि

दुर्घटनामा परी एकैदिन १४ जनाको मृत्यु

नेपालगन्ज / देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी एकैदिन १४ जनाको ज्यान गएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१८ भाटभटेनीस्थित सडकमा भे.९ प ७४६१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका–१८ बस्ने ४५ वर्षीयबिक्रम राईको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि नर्सिङ होम नेपालगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । रौतहट, यमुनामाई गाउँपालिका–५ झुनखुन्वा चोकस्थित सडकमा यूके १२ सी २९०० नम्बरको कार अनियन्त्रित भई पल्टिदा शनिबार राति दुर्घटना हुँदा कारमा सवार नाम, थर, वतन नखुलेका ४ जना पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।
यसैगरी रौतहट, गौर नगरपालिका–८ हनुमान चोकमा प्र.२–०३–००१ ह–४२५ नम्बरको ई–रिक्साबाट खसेर राजदेवी नगरपालिका–६ कडवाना टोल बस्ने ६० वर्षीया रमिला देवीको शनिबार साँझ मृत्यु भएको छ । उक्त रिक्साबाट खसेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल गौरमा सामान्य उपचार पश्चात थप उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । बारा, कोल्हबी नगरपालिका–१ बटौलिया चोकमा ना.४२ प ८०२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोही ठाउँस्थित बटौलिया स्वास्थ्य चौकीको भवनमा ठोकिएर शनिबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकलमा सवार कोल्हबी नगरपालिका–१ बस्ने २० वर्षीय सागर चौधरी र सोही ठाउँ बस्ने १९ वर्षीय सुशिल चौधरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका १ जनाको न्यूरो अस्पताल वीरगंजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका–१ इमाडोलमा बागमती प्रदेश ०२–०२६ प ८१५५ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका–९ लामाटार बस्ने ३७ वर्षीय बिनोद बुढाथोकीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि बिएण्डबि अस्पताल ललितपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । प्युठान, सरूमारानी गाउँपालिका–२ ददेरीस्थित सडकमा रा.४ प ५०४८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने १२ वर्षीय सुदिप जिसीको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि भालुवाङतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । धनकुटा, पाख्रिबास नगरपालिका–८ लुम्बुवा टोलस्थित सडकमा को.२ त १०४३ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा ट्याकटरमा च्यापीएर ट्याक्टर चालक सोही नगरपालिका–७ थाक्ले बस्ने २१ वर्षीय टंक बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको छ ।
शनिबार साँझै कैलाली, कैलारी गाउँपालिका–८ लौशास्थित सडकमा भे.११ प ७३२४ नम्बरको मोटरसाइकल र सुदूर पश्चिम प्रदेश ०१–००२ त ४१४६ नम्बरको ट्याक्टर एक–आपसमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका–८ बस्ने २२ वर्षीय बिशाल कठरियाको घटनास्थलमै मृत्यु भएको छ । सिन्धुली, सुनकोशी गाउँपालिका–५ डिहीस्थित सडकमा बा.३ ख ८२३ नम्बरको मिनी ट्रकको ढालाबाट खसेर सोही गाउँपालिका–५ काशीखर्क बस्ने ५८ वर्षीय बिष्णु बहादुर थापाको शनिबार साँझ मृत्यु भएको छ । ढालाबाट सडकमा खसेर बेहोस भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका–१ फुर्स्रेस्थित सडकमा बा.५ ख ६५६३ नम्बरको ट्रक सडकबाट करिब ८० मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा ट्रकचालक जुगल गाउँपालिका–२ बस्ने ३४ वर्षीय सिताराम दोङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि चौतारा अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • २८ कार्तिक २०७८, आईतवार प्रकाशित

  • Nabintech