९ देशको सहभागितामा भाषाविज्ञान सम्मेलन हुँदै

असल शासन प्रतिनिधि

काठमाडौं/ ९ देशको सहभागितामा भाषाविज्ञान सम्मेलन हुने भएको छ । भाषाविज्ञान समाज नेपालले ४२ र्औ वार्षिक सम्मेलनको अवसरमा आयोजना गरिएको सम्मेलन मङ्‍सिर १० र ११ गते हुन लागेको हो ।

यो सम्मेलन त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा (माक्रोसफ्ट टिम्स) सफ्टवेयरको प्रयोग गरी अनलाइन माध्यमबाट आयोजना गरिने समाजले जनाएको छ । समाजले विगत ४० वर्षदेखि अविछिन्‍न रुपमा हरेक वर्ष नोभेम्बर २६ र २७ तारिखमा वार्षिक सम्मेलन गर्दै आएको छ ।

यस सम्मेलनमा हरेक वर्ष १० देखि १५ मुलुकका १५० जना जति भाषाविद्हरू सहभागी हुँदै आएको र करिब १०० वटा जति सम्मेलन पत्र प्रस्तुत हुने गरेकोमा कोभिड-१९ महामारीको कारणले यस वर्ष ९ देशको सहभागिता रहने र ७२ वटा सम्मेलन पत्रहरू प्रस्तुत हुने भाषाविज्ञान समाज नेपालका अध्यक्ष कृष्णप्रसाद चालिसेले जानकारी दिए ।

उनले भने, ‘यस वर्ष भाषाविज्ञानका २१ वटा विभिन्‍न विधामा ३२ वटा भाषामा अनुसन्धान गरिएका अनुसन्धान पत्रहरू सम्मेलन पत्रका रूपमा प्रस्तुत गरिने र ती अनुसन्धान पत्रहरू माथि छलफल गरिने छ।’ अनुसन्धान पत्रहरूमा भाषाका वर्ण, ध्वनि, रूप, वाक्य र अर्थ व्यवस्थाका साथै भाषाका वक्ताको भाषिक स्थिति, अभिवृत्ति, पारस्परिक प्रभाव जस्ता समाजभाषिक र सांस्कृतिक विषयका साथै भाषा नीति र योजना, भाषासँग सम्बन्धित पहिचान, विचार, लैङ्गिकता, शक्ति, संस्कृति जस्ता भाषा संस्कृति र भाषा राजनीतिका विषयका साथै लोपोन्मुख भाषाहरूको संरक्षण, भाषिक शिक्षण र सिकाइ, क्लिनिकल भाषाविज्ञान, कम्प्युटर भाषविज्ञान जस्ता विषयहरू समेटिएको उनको भनाई छ ।

  • ९ मंसिर २०७८, बिहीबार प्रकाशित

  • Nabintech