डुडुवामा अत्याधुनिक ७०० मेटिक टनको कोल्ड स्टोर बन्दै

असल शासन प्रतिनिधि

नेपालगन्ज/बाँकेको डुडुवा गाउँपालिकाको सबै भन्दा ठूलो दोस्रो योजनाको रुपमा रहेको कोल्ड स्टोरको निर्माण सुरु भएको छ । डुडुवा ६ हिरिमिनियामा निर्माण थालिएको ७०० मेट्रिक टन क्षमताको अत्याधुनिक कोल्ड स्टोरेजको बुधबार एक कार्यक्रमका बीच पूजापाठ गरी शिलान्यास गरिएको छ ।

भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आलुको पकेट क्षेत्र मानिएको हिरिमिनियाका किसानले उत्पादन गरेको तरकारी तथा फलफुल भण्डारणमा सहयोग पुग्ने बताए । उनले आलु लगायतका तरकारी र फलफुल भण्डारण गर्नका लागि डुडुवाका किसानलाई विशेष फाइदा भएपछि कृषि उत्पादनमा वृद्धि तथा बजारीकरणको सम्भावना अझै बढ्ने बताए । अध्यक्ष चौधरीले गाउँपालिकाको दोस्रो वर्षको योजनामा परेको यो योजनालाई अहिले कार्यान्वयनमा ल्याउँदा किसानका समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे ।

करिब १३ कठ्ठा जग्गामा निर्माण हुन लागेको अत्याधुनिक प्रविधि मल्टीप्रपोजको लागत रु ६ करोड, ७ लाख ५४ हजार २१२ रहेको छ । कोल्डस्टोरेजसँगै, प्रशासनिक कार्यालय भवन, गेष्ट हाउस, शौचालय, वाउण्ड्री वाल र पार्किङ निर्माण गरिने गाउँपालिकाका इन्जिनियर प्रकाश शाहीले बताए ।

कोल्डस्टोरेज निर्माणपछि गाउँपालिकाका किसानसँगै जिल्लाका अन्य किसानलाई पनि राहत मिल्ने छ । १८ महिनाको अवधिमा निर्माण सम्पन्न गर्ने गरी काठमाडौंस्थित पारामाउण्ट नेचुरल जेवी निर्माण कम्पनीले ठेक्का लिएको इन्जिनियर सुरेन्द्र बर्माले बताए । उनका अनुसार ६ महिना लगाएर योजनाको अत्याधुनिक डिपीआर तयार गरिएको हो ।
गाउँपालिकाको पहिलो ठूलो योजना गाउँपालिकाको प्रशासनिक भवन रहेको छ । उक्त भवन अहिले निर्माणाधीन रहेको र हालसम्म करिब ८० प्रतिशत निर्माण सकिएको जनाइएको छ ।

  • १६ मंसिर २०७८, बिहीबार प्रकाशित

  • Nabintech