वडा कार्यालयबाट ज्येष्ठ नागरिक परिचयपत्र वितरण

असल शासन प्रतिनिधि

नेपालगन्ज/ राप्ती सोनारी गाउँपालिकाले पहिलोपटक ज्येष्ठ नागरिकहरुलाई ज्येष्ठ नागरिक परिचय पत्र बुधबार वितरण गरेको छ । यस अघि गाउँपालिकाबाट वितरण गरिँदै आएको ज्येष्ठ नागरिक परिचय पत्र गाउँपालिकाले वडा कार्यालयबाट पहिलोपटक ज्येष्ठ नागरिकहरुलाई परिचय पत्र वितरण गरेको हो ।

राप्ती सोनारी गाउँपालिकाले ज्येष्ठ नागरिक परिचय पत्र वितरण शिविरको आयोजना गरी वडा नं. १ का ज्येष्ठ नागरिकलाई परिचय पत्र वितरण गरिएको छ । राप्ती सोनारी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर शाहीले वडा नं. १ का ८६ वर्षीय मंगल बादीलाई ज्येष्ठ नागरिक परिचय पत्र प्रदान गरी औपचारिक रुपमा ज्येष्ठ नागरिक परिचय पत्र वितरण कार्यक्रमको उद्घाटन गरेका हुन् । परिचय पत्र वितरण कार्यक्रममा प्रमुख शाहीले भने,‘क्षेत्रफलको हिसाबले देशकै ठूलो गाउँपालिका भएकाले दुरदराजका वासिन्दालाई पालिकासम्म ज्येष्ठ नगारिक परिचय पत्र लिन अप्ठ्यारो पर्ने कुरालाई मध्यनजर गरेर सम्बन्धित वडाबाटै परिचय पत्र वितरण गरिएको हो ।’ वडाबाटै ज्येष्ठ नागरिकले परिचय पत्र पाएपछि समय र पैसाको बचत भएको स्थानीयले बताएका छन् ।

गाउँपालिकाले सार्वजनिक बिदा र शनिबारको दिन बाहेक अन्य हरेक दिन वडा कार्यालयमा समयमा ज्येष्ठ नागरिक परिचय पत्र लिन आएमा गाउँपालिका भित्र रहेका ६० वर्ष उमेर पुगेका सबै ज्येष्ठ नागरिकलाई परिचय पत्र वितरण गरिने राप्ती सोनारी गाउँपालिका अन्तर्गत महिला, बालबालिका शाखा प्रमुख सम्झना दलामीले जानकारी दिइन् । उनका अनुसार ज्येष्ठ नागरिक आफ्नो उमेर खुल्ने कागजात लिएर स्वयम् उपस्थित भएमा वा उसको नजिकको नातेदार वडाको सिफरिस लिएर आए परिचय पत्र प्रदान गर्न सकिने बताइन् । पहिलो दिन बुधबार वडा नं. १ मा ५८ जनालाई ज्येष्ठ नागरिकलाई परिचय पत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

  • १६ मंसिर २०७८, बिहीबार प्रकाशित

  • Nabintech