छात्राहरुका लागि सहारा – रेष्ट

गणेश प्रसाद भट्टराई

बाल्यकालदेखिनै शिक्षा र स्वास्थ्य जीवनको आधार हो भन्ने मान्यता म राख्दथें । शिक्षाले सर्वाङ्गिण बिकास हुन्छ भन्ने अभिलाषाका साथ कक्षा १२ उतिर्ण भएपछि ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट) सँग जोडिन पुगेँ । संस्थाको उद्वेश्य अनुरुप मेरो सानै देखिको सोच गरिबीका कारण शिक्षा र स्वास्थ्यबाट कोही पनि बालबालिका बञ्चित हुनु नपरोस् भन्ने भावना म मा थियो ।

सामान्य परिवारमा प्युठान जिल्ला धरमपानी ९ बर्बोटमा जन्मेको मैले ३ वर्षको उमेरमानै बुबालाई गुमाएँ । अभावै, अभावमा बाल्यकाल बिताएको मैले पढ्ने क्रममा दिदी, दाजुहरुले लेखेको कापीलाई पुनः पानीमा पखालेर लेखेको हुँदा कापी कलमको महत्व बुझेको छु । संस्थामा आबद्घ भएर अहिले बालबालिकालाई सहयोग गर्न पाउँदा संस्थाप्रति आभारी छु ।

दिगो शान्ति, सुशासन, विकास र समृद्धिको परिकल्पना शिक्षाले गरेको हुन्छ । शिक्षा जीवनको आधार हो, सिर्जनाको मुहान हो । विकासका हरेक कार्यहरुलाई प्रभावकारी रुपमा सफलताका साथ सम्पन्न गर्न गुणस्तरीय शिक्षाले महत्वपूर्ण भूमिका समेत निर्वाह गर्दछ । यति हँुदाहँुदै र जान्दा जान्दै पनि गरिबीका कारण आधारभूत शिक्षाबाट समेत नेपालका अधिकांश बालबालिका बञ्चित छन् । यस्तो विषम परिस्थितिमा ती दीन, दुुःखी असहाय, सीमान्तकृत छात्राहरुको पढ्ने अभिलाषालाई जीवन्त बनाउन सहारा बनेको छ – ‘ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट) ।

पवित्र मन लिई शिक्षा सेवामा समर्पित यस संस्थाले मूलतः शिक्षाको पारिलो घामबाट वञ्चित अत्यन्त न्यून आय भएका धेरै बालिकाहरुको शिक्षित भई सक्षम, प्रतिस्पर्धी नैतिक तथा राष्ट्रहित प्रति सचेत नागरिक बन्ने अभिष्टलाई पूरा गरेको छ । आर्थिक विपन्नताको कारण कोही पनि बालबालिकाहरु शिक्षा आर्जनबाट वञ्चित हुन नपरोस् भन्ने मान्यता स्वरुप यसले अद्वितीय भूमिका निर्वाह गरेको स्पष्ट छ ।

बालबालिकाहरुलाई शिरदेखि पाउसम्म, गर्मीदेखि जाडोसम्म आवश्यक पर्ने पोसाक होस् या शिक्षार्जनका निम्ति आवश्यक पर्ने शैक्षिक सामग्री होस् अथवा शैक्षिक गुणस्तर वृद्धिका निम्ति आवश्यक आर्थिक सहयोग नै किन नहोस् सबै कुराको जोहो गरिदिएर बालिका एवं विद्यालयप्रति यसले गरेको सहयोग सह्रानीय छ । यो संस्थाप्रतिको दीर्घकालीन सोच र अभियान मेरा लागि प्रेरणाको स्रोत समेत बनेको छ ।

शिक्षा निरन्तर चलिरहने प्रक्रिया हो । शिक्षाकै कारण मानव प्राणीहरुमा सर्वश्रेष्ठ प्राणी कहलिएको छ । महिला एवम् बालबालिकाका हक सुरक्षित गर्न शिक्षा अनिवार्य छ । यसै कुरालाई आत्मसात् गर्दै शिक्षामा सबै छात्राहरुको पहुँच पुर्याउन, विद्यालय छोड्ने दर तथा कक्षा दोहोर्याउने दरमा कमी ल्याउन यसले गरेको कार्य अविस्मरणीय छ । यति मात्र होइन शुक्रबारीय छात्रामैत्री कक्षा सञ्चालनले त झन् छात्राहरुमा यौन हिंसा प्रति सचेत रहन, पोषण सम्बन्धी ज्ञान दिन अनि चरित्र निर्माणमा कोशेढुङ्गा सावित भएको छ ।

यस संस्थासँग मैले वि.सं. २०६५ साल जेठ २३ गते देखि आवद्धता जनाउन पाएको हुँ । जसका कारण आज सामाजिक सेवामा जीवन समर्पित भएको भान समेत भएको छ । जीवन भोगाइका क्रममा यात्रा गर्दा बाढी र पहिरो आएको बेला हिलोमा चप्पल गाडिएर खाली खुट्टा विद्यालयमा बास बसी चिउरा र दालमोठ समेत खाँदै सेवा गरेका क्षणहरु अबिष्मरणिय छन्, यि दुःख र सुखका क्षणहरुबाट आत्मसन्तुष्टी मिलेको छ ।

मेरा आदरणीय प्रेरणाका स्रोत अग्रज व्यक्तित्व डा. अरुणा उप्रेती, कमला अधिकारी र राजु भट्टहरुको साथ सहयोग सल्लाह र सुझाव सदैव मार्गदर्शन बनेका छन् ।

स्थानीय सरकार, विद्यालय परिवार, अभिभावक, विद्यार्थी भाइबहिनीहरुका भावनाको कदर गर्दै संस्थाको लक्ष्य, उद्देश्यप्रति समर्पित हुने प्रेरणा सदैव मिलि रहनेछ भन्ने कुरामा विश्वस्त छु ।

(भट्टराई रेष्टका कार्यक्रम अधिकृत हुन् ।)

  • १६ मंसिर २०७८, बिहीबार प्रकाशित

  • Nabintech