महिला भलिबल खेलाडीलाई जनही ५ लाख पुरस्कार दिइने

असल शासन प्रतिनिधि

नेपालगन्ज/ सरकारले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता नेपाली खेलाडीहरुलाई पुरस्कार दिने निर्णय गरेको छ । बुधबार (पौष १४ गते) बसेको मन्त्रिपरिषद्को बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई सम्मान पत्र सहित नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको हो ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)को पहलमा मन्त्रिपरिषद्को बैठकले उपाधि बिजेता १२ जना खेलाडीहरुलाई जनही ५/५ लाख, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गर्ने निर्णय गरेकोे हो । नेपाली टिमको जितले गौरब र खुसीको अनुभुती भएको उल्लेख गर्दै मन्त्री अथकले देशको पहिचान र गौरव बढाउने राष्ट्रिय टिमका खेलाडीहरुलाई नगद राशीले पुरस्कृत गर्ने प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा लगेका थिए ।

बंगलादेशको ढाकामा मंगलबार भएको फाइनल खेलमा नेपाली महिला भलिबल टिमले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएको थियो । साविकको विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै उपाधि रक्षा गरेको हो ।

उपाधि विजेता नेपाली टिम भोलि (बिहीबार) स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

  • १४ पुष २०७८, बुधबार प्रकाशित

  • Nabintech