भेरी अस्पतालमा चार जनाको मृत्यु

असल शासन प्रतिनिधि

नेपालगन्ज/ भेरी अस्पताल नेपालगन्जको क्वाटरमा बस्ने चार जना कर्मचारीको रहस्यमय मृत्यु भएको छ । अस्पतालको स्टोर शाखामा कार्यरत २३ वर्षका धनप्रसाद भट्टराई, उनकी बहिनी अन्दाजी २२ बर्षीया कोली भट्टराई, तीन महिनाका छोरा इप्सन भट्टराई र सासु अन्दाजी ५५ बर्षीया कोपिला भट्टराईको मृत्यु भएको हो ।

उनीहरु अस्पतालको क्वाटरको एउटै कोठामा सुतेका थिए । चिसोमा कोइला बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बाँकेले अनुमान गरेकोछ । बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले निसास्सिएर मृत्यु भएको आशंका भएको बताउदै, विस्तृत विवरण पोष्टमार्टम रिपोर्टबाट थाहा हुने बताए । मृतक भट्टराईसहित उक्त क्वाटरमा ७ जना रहेका थिए ।

बिहीबार बिहान करिव ६ बजेतिर कोठामा गएर अन्य कर्मचारीले हेर्दा चार जना मृत अवस्थामा फेला परेका थिए । उनिहरुसंगै रहेका अन्य ३ जना अचेत अवस्थामा फेला परेका थिए । ३ जना मध्ये एक जनाको होस खुलेपनि दुई जना अझै अचेत अवस्थामै रहेको प्रजिअ खत्रीले बताए । मृतक भट्टराईकी पत्नी र अर्का तीन वर्षका छोरासहित तीन जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • १५ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech