डुडुवामा तीव्र गतिले मतदाता नामावली संकलन

असल शासन प्रतिनिधि

नेपालगन्ज/ डुडुवा गाउँपालिकामा फोटोसहितको मतदाता नामावली संकलनको कार्य धमाधम भइरहेको छ । जिल्ला निर्वाचन कार्यालय बाँकेले गाउँपालिकाका कर्मचारी सम्मिलत ४ जनाको टोली खटाई विवरणसहितको नामावली संकलनको कार्य गरिरहेको छ ।
गत पुस ४ गतेदेखि शुरु भएको नामावली संकलनको कार्यमा बिहीबार दिउँसोसम्म १२ सय ४० जनाको मतदाता नामावली संकलन भएको दर्ता कर्मचारी कौशल कैरातीले बताए । उनका अनुसार मतदाता नामावलीमा नाम छुटेका, उमेर पुगेर नागरिकता नबनाएका तथा बाहिर जिल्ला तथा स्थानीय तहबाट बसाइसराई गरी आएर बसेका नागरिकहरुको मतदातामा नामावली संकलन गरिएको छ ।

डुडुवा गाउँपालिका वार्ड नंं ३ बनकट्टीमा विवरण संकलन केन्द्रको स्थापना गरि वार्ड नंं १ देखि ६ वडाका नागरिकहरुको नामावली संकलन भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताए ।

हिँड्डुल गर्न नसक्ने तथा सवारी साधन नभएका महिला तथा ज्येष्ठ नागरिक, असहाय, तथा अति विपन्न, अपांगता भएका सम्पूर्ण नागरिकहरुलाई घरबाट संकलन केन्द्रसम्म आवत जावतका लागि गाउँपालिकाले सवारी साधनको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । अध्यक्ष चौधरीले सम्पूर्ण नेपालीहरुको मताधिकारको संरक्षण गर्दै गाउँपालिका अन्तर्गत कुनै पनि नागरिक मताधिकारबाट वञ्चित नहुन भनेर सबैलाई आफ्नो नामावली दर्ता गराउन आग्रह समेत गरे ।

मतदाता नामावली संकलन केन्द्र बनकट्टीमा प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायसहितको टोलीले विवरण संकलनको कार्य प्रक्रियाका बारे अनुगमन गरेको छ । विवरण संकलन केन्द्रमा अहिले चिसो तथा शीतलहरले बढेको चिसोबाट छल्नका लागि गाउँपालिकाले आगो ताप्न दाउराको समेत व्यवस्था गरेको छ । डुडुवामा पुस १८ गतेसम्म नामावली संकलन गरिनेछ । छुटेकाहरुलाई तीन दिनभित्र आफनो नाम दर्ता गराउन गाउँपालिकाले अनुरोध गरेको छ ।

  • १५ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech