फेडोले गर्‍यो सामाजिक परीक्षण

असल शासन प्रतिनिधि

दलित महिला संघ (फेडो) बाँकेको सामाजिक परीक्षण कार्यक्रम बिहीबार सम्पन्न भएको छ । संस्थाले वर्षभरि गरेका कार्यक्रम तथा उपलब्धिहरू सरोकारवालालाई जानकारी गरी समीक्षा गर्ने उद्देश्यका साथ सामाजिक परीक्षण गरिएको हो ।
दलित महिला संघकी कार्यक्रम संयोजक दिलिसा गौतमले प्रगति तथा लेखा अधिकृत प्रतिभा गोरतालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको सो कार्यक्रममा सामाजिक परीक्षण प्रतिवेदन बासका कार्यकारी निर्देशक तथा सामाजिक परीक्षक नमस्कार शाहले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उपस्थित सरोकारवालाबीच भएको छलफल पश्चात् तिन बुँदे प्रतिबद्धताको घोषणा गरिएको छ । घोषणा गरिएका प्रतिबद्धतामा संस्थाले सञ्चालन गर्ने परियोजना तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउने, संस्थालाई प्रविधिमैत्री बनाउने र अभिलेखीकरणलाई चुस्त दुरुस्त बनाउने र संस्थामा सूचना अधिकारी र गुनासो सुन्ने अधिकारी तोक्ने रहेका छन् ।
कार्यक्रममा सहभागीहरूले संस्थाले गरेका कामको प्रशंसा गर्दै आगामी दिनमा अझैँ राम्रो गर्नका लागि सुझाव दिएका थिए । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगकी शाखा अधिकृत द्वारिका अधिकारी, बैजनाथ गाउँपालिका नम्बर ८ का वडा अध्यक्ष भगन थारु, वडा नम्बर ७ का अध्यक्ष सीताराम चौधरी, खजुरा गाउँपालिका गाउँ कार्यपालिका सदस्य फत्ते कुमारी जैशी, नेपालगन्ज उपमहानगरपालिका महिला तथा बाल विकास शाखाकी तारा सिंहलगायतले बोलेका थिए ।
संस्थाकी अध्यक्ष निर्मला सुनारको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाकी सदस्य ज्ञानु सोनकारले स्वागत गरेकी थिइन् । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

  • १७ पुष २०७७, शुक्रबार प्रकाशित

  • Nabintech