फुटबलका ‘हस्ती’को सम्झनामा प्रतियोगिता

असल शासन प्रतिनिधि

नेपालगन्ज– फुटबलका माध्यमबाट यस क्षेत्रलाई चिनाउने व्यक्ति हुन् स्वर्गीय श्याम थापा । बाँकेको प्रतिनिधित्व गर्दै  राष्ट्रिय स्तरमा हुने फुटबल खेलमा सफलता हासिल गरेका थापालाई खेल अगावै हेर्ने र भेट्नेको लर्को लाग्ने गरेको स्मरण गर्छन् बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही ।

तत्कालीन समयमा बाँकेबाट राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिता जनाउन पाउने कम व्यक्तिमध्ये पहिलो नम्बरमा पर्ने ‘श्याम’ दाईको खेल प्रतिभा हेर्दा खेल सुरु हुनु अगावै सयौं दर्शकले उनलाई घेर्ने गरेको देख्दा नै आफू पनि फुटबल खेलप्रति आकर्षित भएको बताउँछन् अध्यक्ष शाही ।

उनै सफल फुटबलर श्याम थापाको सम्झनामा पुस २७ गतेदेखि स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिता–२०७७ सञ्चालन हुँदैछ ।

जयकिसान स्पोर्टस् क्लब र खजुरा गाउँपालिकाले आयोजना गर्ने स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिता खजुरा गाउँपलिका–१, सैनिकमा माघ ५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिता मैटहवा माविको फुटबल मैदान हुनेछ । प्रतियोगितामा बाँके जिल्लाका क्लबहरुलाई प्राथमिकतामा राखिएको छ । अनुमानित १२ लाख बजेट रहेको प्रतियोगिताको विजेता टोलीले एक लाख पाँच हजार रुपैयाँ पुरस्कार राशी पाउने आयोजकले जनाएको छ । त्यसैगरी उपविजेताले ५५ हजार पाउने छन् । खेलमा बेस्ट प्लेयरले १५ हजार रुपैयाँ, हाइस्कोररले १५ हजार रुपैयाँ र हरेक खेलमा म्यान अफ द म्याचलाई पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माचिरिङ शेर्पाले गर्नेछन् । प्रतियोगितामा पूर्व राष्ट्रिय फुटबल टोलीका कप्तान उपेन्द्रमान सिंहको पनि उपस्थिति रहनेछ ।

प्रतियोगितामा मुसुरिया फुटबल एकेडेमी, कैलाली, राजापुर, बर्दिया, युएनविसी, दाङ, एसएसएफय, दाङ, गुर्माकोट, सुर्खेत, चन्द्रनाथ, जुम्ला, सिटी युथ एकेडेमी, कोहलपुर आउने भएका छन् । साथै न्यू डाँफे स्पोर्टस्, डी गाउँ, धम्बोझी स्पोर्टस् क्लब नेपालगन्ज, साहारा एफ सी लखनऊ, साहारा एकेडेमी लखनऊ, जय किसान स्पोर्टस् क्लब सैनिक र गौरीगंगा धनगढी पनि सामेल हुने आयोजकले जनाएको छ ।

फुटबलको माध्यमबाट गाउँ, जिल्ला, क्षेत्र र देश चिनाउन सफल थापा बाँकेको फुटबल क्षेत्रका हस्तीका रुपमा गनिने व्यक्ति हुन् । थापाले फुटबलका माध्यमबाट गाउँठाउँलाई चिनाउन गरेको योगदानको कदर गर्दै उनको सम्मानलाई थप गर्विलो बनाउने उद्देश्यले उक्त प्रतियोगिताको सञ्चालन गरिन लागिएको हो ।

  • २५ पुष २०७७, शनिबार प्रकाशित

  • Nabintech