‘पकेट खर्च’बाट युवाहरुको लोभलाग्दो ‘समाज सेवा’

आफू आफू भएर बाँच्न सके अरुलाई पनि खुसी दिन सकिन्छ भन्ने अभियान साथ उनीहरु समाज सेवामा अग्रसर बनेका हुन् ।

रमण ओली

नेपालगन्ज–असल काम गर्नका लागि मानिसले चाहे के हुँदैन् भन्ने उदाहरण बनेका छन् नेपालगन्जका ८ युवा । उनीहरुले घरबाट पाउँदै आएको पकेट खर्च बचाएर नेपालगन्जमा लोभलाग्दो समाज सेवा गर्न सफल भएका छन् । आफू आफू भएर बाँच्न सके अरुलाई पनि खुसी दिन सकिन्छ भन्ने अभियान साथ उनीहरु समाज सेवामा अग्रसर बनेका हुन् । समाज सेवा गर्न धेरै पैसा चाहिन्छ वा धेरैको सपोर्ट चाहिन्छ भन्ने आमजनमानसमा रहेको सोचलाई परिवर्तन गर्न ‘बी योर सेल्फ’ मार्फत् आवश्यकतामा परेका र गरिबी दुःखीको सेवा गर्दै आएको बताउँछन् उनीहरु ।
‘बी योर सेल्फ’ अभियानको परिकल्पनाकार तथा संस्थापक गौरब शाहका अनुसार ‘सेभ मनी सेभ वन लाइफ‘ अर्थात् पैसा बचाएर अरुलाई सहयोग गरौं भन्ने उद्देश्य लिएर ‘बी योर सेल्फ’को सुरुवात भएको बताउँछन् । घरबाट पाउँदै आएको पकेट खर्च बचाएर अहिलेसम्म ‘बी योर सेल्फ’मा सहभागी युवाहरुले आवश्यकतामा परेका धेरै व्यक्तिहरुको सहयोग गरिसकेको बताउँदै यस अभियानमा सबैले हातेमालो गर्नु पर्ने बताउँछन् संस्थापक गौरब शाह ।
‘बी योर सेल्फ’ अभियानमा सहभागी युवाहरुले थोरै थोरै रकम जम्मा गरेर यस अघि निल सागर वृद्धाश्रममा रहेका वृद्धवृद्धाका लागि खानाको व्यवस्था गरेका थिए भने बागेश्वरी मन्दिर र बाटोमा भौँतारिएर बसेका करिब एक सय व्यक्तिलाई खाना खुवाइएको ‘बी योर सेल्फ’की कोषाध्यक्ष प्रेक्षा केसीले जानकारी दिइन् । केसीका अनुसार मातृविसर्जनमा पानी सहयोग, सडकमा भौँतारिएर हिँड्ने कुकुरलाई दूध र खाना, विपन्न वर्गका परिवारलाई खाद्यान्न सहयोगलगायत लकडाउनका अवधिमा गरिब तथा विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको जनाइन् । जुन सहयोग उनीहरुले पकेट खर्चबाटै व्यवस्थापन गरेका थिए ।
कुपोषण कसैलाई रहरले वा बाध्यताले हुँदैन तर एकदिनको तपाइँको खाजाले कुपोषित बालबालिकाकालाई कुपोषणविरुद्ध लड्न ठूलो सहयोग पुग्नेछ भन्दै नेपालगन्जस्थित त्रिभुवन चोक परिसरमा ‘बी योर सेल्फ’का अभियानकर्ताले पकेट खर्चबाट जम्मा गरेको पैसाले बनाइएको खाजा बिक्री गरेबापत आएको रकम कुपोषण बालबालिकालाई सहयोग गरेका छन् ।
‘बी योर सेल्फ’ को ‘कुपोषणविरुद्ध हातेमालो गर्न, एक दिन खाजा हामीसँग’ अभियान अन्तर्गत आएको पैसाले मंगलबार भेरी अस्पतालमा उपचाररत कुपोषित बालबालिकालाई खेलौना किनेर सहयोग गरेका हुन् । उपचाररत बालबालिकाले घरायसी माहोलको अनुभव गरुन् भन्ने उद्देश्यले उनीहरुले टेडी डग २ थान, भ्यान ६ थान, फलफूल सेट १ पकेट, किचन सेट २ पकेट, बल्क गेम १ पकेट, डल ३ पिस, स्क्वाएर सेट १ पिस, कार ६ पिस, हवाइ जहाज ६ पिस १२ थान बल सहयोग गरेको ‘बी योर सेल्फ’ का सचिव करण शाहले जानकारी दिए ।
आठजना युवा सहभागी ‘बी योर सेल्फ’ अभियानमार्फत् सानोतिनो आवश्यकताबाट ग्रसित व्यक्तिलाई सहयोग गर्दै जाने संस्थापक गौरब शाह बताउँछन् । यस अभियानमा सबैले हातेमालो गर्नु पर्ने उनको धारणा रहेको छ ।

  • २७ पुष २०७७, सोमबार प्रकाशित

  • Nabintech