‘श्याम थापा स्मृति फुटबल प्रतियोगिता ’, उद्घाटन खेलमा मसुरिया विजयी

असल शासन प्रतिनिधि

खजुरा–कैलालीको मसुरिया फुटबल एकेडेमीले स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । सोमबारदेखि खजुरा गाउँपालिका, १ सैनिकमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा कैलालीको मसुरियाले दाङको युएनविसिलाई १–० ले पराजित गरेको हो । खेलको ६५औं मिनेटमा कैलालीका लागि दिवस बोरोराले गोल गर्दै टोलीलाई जित दिलाएका हुन ।
प्रतियोगिताको उद्घाटनको दिन सोमबार अखिल नेपाल फुटबल संघ(एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पा, एन्फा उपाध्यक्ष एवम् नेपाली फुटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंह, स्वर्गीय श्याम थापाकी धर्मपत्नी याम कुमारी थापा,एन्फा केन्द्रीय सदस्य प्रदेश सिह राठोर, एन्फा केन्द्रीय सदस्य एवम् नेपाल ओलम्पिक कमिटी सदस्य दीर्घबहादुर केसी ‘कुमार’, लुम्बिनी प्रदेश फुटबल संघका अध्यक्ष भूपेन्द्र बिक्रम थापा ‘पुकार’, उपाध्यक्ष सूर्यमणि अधिकारी, एन्फाका पूर्व उपाध्क्ष गोर्वद्धन सिंह सम्झना, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, बर्दिया जिल्ला फुटबल संघका अध्यक्ष अजित राज भण्डारी, प्रतियोगिताको मुख्य प्रायोजक बाँके बर्दिया मैत्रीसमाज प्रतिनिधि लीलबहादुर मल्ललगायतको उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहमा बोल्दै एन्फा अध्यक्ष शेर्पाले नेपाली फुटबलको विकासका लागि ग्रामीण केन्द्रित योजना ल्याउने तयारी गरिरहेको बताए । सैनिकमा भएको प्रतियोगिताले नेपालको गाउँघरमा फुटबल कति लोकप्रिय छ भनेर प्रमाणित गरेको शेर्पाले बताए । उनले भने, ‘प्रतियोगिता आयोजकलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं । गाउँघरमा पनि यस्तो स्तरीय प्रतियोगिता गरेकोमा । एउटा फुटबलको हस्तीको नाममा प्रतियोगिता गर्नु राम्रो कुरा हो । यसमा संघले आगामी दिनमा सक्दो सहयोग गर्ने छ ।’ माघको ९ गते सम्म चल्ने प्रतियोगितामा भारतीय दुई टिमसहित नेपालका विभिन्न क्लबहरु गरी १७ टिमले भाग लिएका छन् ।
नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख ५ हजार, उपविजेताले ५५ हजार पाउने आयोजक जय किसान स्पोर्ट्स क्लब सैनिकका अध्यक्ष दिपु रानाले बताए । मैटहवा माविको फुटबल मैदान भैरहेको प्रतियोगिता बाँकेको जिल्ला सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको रुपमा रहेको आयोजक क्लबका महासचिव दिपक रानाले बताए । प्रतियोगितालाई बाँके बर्दिया मैत्री समाज जापानले मुख्य प्रायोजन गरेको छ ।
प्रतियोगिता अन्तर्गत मंगलबार पहिलो खेलमा न्यु डाँफे स्पोर्टस क्लब डी गाउँ र रेसुङा सहारा कोहलपुर तथा अर्को खेलमा एसएसएफए दाङ र डिएफए सुर्खेतबीच हुने आयोजकले जानकारी गराएको छ ।

  • २७ पुष २०७७, सोमबार प्रकाशित

  • Nabintech