मालपोत प्रमुख दौल्याल यसरी परे पक्राउ

मालपोत कार्यालयका अनुसार, घटनापछि दौल्याल १० दिनको बिदामा काठमाडौं लागेका छन् भने घटनासँग सम्बन्धित कार्यालय सहायक पनि बिदामा बसेकिछिन् ।

असल शासन प्रतिनिधि

नेपालगन्ज–मालपोत कार्यालय बाँकेका प्रमुख मालपोत अधिकृत महिलासहित नेपालगन्जको एक होटलबाट पक्राउ परेका छन् । नेपालगन्जस्थित सिद्धार्थ भ्यूमा अन्तर्राष्ट्रिय नयाँ वर्षको अघिल्लो दिन बिहीबार राति आफ्नै कार्यालयमा कार्यरत महिला कर्मचारीसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रमुख मालपोत अधिकृत दौल्यालविरुद्ध प्रहरीलाई खबर भएपछि राति नै दौल्याललाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय जमुनाहास्थित हिरासत कक्षमा राखेको थियो । जमुनाहामा राखिएका दौल्याललाई पछिल्लो दिन बिहान जिल्ला प्रहरी कार्यालयमा कागज गरी छाडिएको थियो ।
श्रोतका अनुसार अन्तर्राष्ट्रिय नयाँ वर्षको अघिल्लो दिन नेपालगन्जस्थित सिद्धार्थ भ्यू होटेलमा नयाँ वर्ष मनाउन आफ्नै कार्यालयमा कार्यरत महिला कार्यालय सहायक पुगेको थाहा पाएपछि मध्यरातमा कार्यालयमा रहेका अर्का कार्यालय सहायक (पुरुष)सँग अटो रिक्सामा होटेलमा पुगेका थिए ।
श्रोतका अनुसार, होटलमा राति २ बजे भएको नाचगान कार्यक्रममा महिला नाचिरहँदा कार्यालय प्रमुखले तानेपछि मुठभेडको अवस्था आयो, सँगै नाचिरहेका युवाले प्रमुख दौल्याल माथि हातपात गरे । अवस्था असमान्य भएपछि जिल्ला प्रहरी कार्यालय बाँकेको टोली घटनास्थल पुग्यो, घटनास्थल पुग्दा हातपात गर्ने युवाहरु फरार भइसकेका थिए भने दौल्याललगायत घटनास्थलमै थिए । प्रहरीले उनी लगायतलाई नियन्त्रणमा लियो । युवाहरुको हातपातबाट घाइते दौल्यालको टाउकोमा चोट लागेको थियो । प्रहरीले भेरी अस्पतालमा मेडिकल गराउनुका साथै प्राथमिक उपचार गरेको थियो । उनको टाउकोमा टाका लगाइएको थियो । प्राथमिक उपचारपछि जिल्ला प्रहरीको हिरासत खाली नभएपछि दौल्याललाई प्रहरीले जमुनाह प्रहरी चौकीमा राखेको थियो । उनीविरुद्ध कहीँकतैबाट उजुरी नआएपछि प्रहरीले बिहान १० बजे जिल्ला प्रहरी कार्यालयमा हाजिर हुने गरी सबेरै छाडेको थियो । बिहान १० बजे जिल्ला प्रहरी कार्यालय पुगेका उनलाई नापी कार्यालयका प्रमुखसहितको जमानीमा छाडेको थियो । प्रमुख दौल्याल लामो समयदेखि ती विवाहित महिला कार्यालय सहायकसँग प्रेम सम्बन्धमा रहँदै आएको श्रोतको दाबी छ ।
घटनाका विषयमा प्रमुख मालपोत अधिकृत दौल्यालले आफूमाथि गलत आरोप लगाएको भन्दै अस्वीकार गरेका छन् । मालपोत कार्यालयका अनुसार, घटनापछि दौल्याल १० दिनको बिदामा काठमाडौं लागेका छन् भने घटनासँग सम्बन्धित कार्यालय सहायक पनि बिदामा बसेकिछिन् ।

  • २८ पुष २०७७, मंगलवार प्रकाशित

  • Nabintech