अनाथाश्रममा खुसी बाड्दै किरणले मनाए जन्मदिन

असल शासन प्रतिनिधि

नेपालगन्ज । जन्मदिनमा केक काटेर, भोज भतेर गरि फजुल खर्च गरेर मनाउने विकृति बढीरहेका बेला नेपालगन्ज उपमहानगरपालिका १० भृकुटीनगर बस्ने किरण भट्टले अनाथाश्रममा रहेका वालवालिकाहरुसँग खुसी बाँड्दै आफ्नो जन्मदिन मनाएका छन् ।
नेपालगन्ज स्थित जुनीयर आइस्टाईन एकेडेमीमा कक्षा ८ मा अध्ययनरत भट्टले अनाथाश्रममा रहेका वालवालिकालाई खाद्यान्न लगायत दैनिक उपभोग्य सामाग्री वितरण गरि आज मनाएका हुन् । नेपालगन्ज स्थित समाज विकास तथा प्रबद्र्धन केन्द्र बाँकेद्धारा सञ्चालीत अनाथ असहाय तथा सडक वालवालिका संरक्षण केन्द्रमा रहेका १४ जना वालवालिकालाई सो सामाग्री सहयोग गरेको हो । भट्टले जन्मदिनको लागि खर्च गर्ने रकमबाट वालवालिकालाई २५ किलो चामल, ४ किलो दाल, १४ जनालाई एकएक पिस टुथपेस्ट र ब्रस वितरण गरेका छन् ।
जन्मदिनमा केक काटेर खर्च गर्नुको साटो आफु जस्तै साथिहरुलाई सामाग्री सहयोग गर्न पाउदा खुसी लागेको किरणले बताए । वालवालिकालाई खाद्यान्न तथा सामाग्री किरण भट्ट, बुवा हेमराज भट्ट र आमा महेश्वरी भट्टले वितरण गरेका थिए । सामाग्री वितरण कार्यक्रमका बोल्दै गैरसरकारी संस्था महासँघ बाँकेका अध्यक्ष तथा बासका कार्यकारी निर्देशक नमस्कार शाहले सानो उमेर मै सेवाको भावना विकास हुनु अन्य वालवालिकाका लागि उदाहरणीय हुने बताए । सामाग्री वितरण पश्चात बोल्दै अनाथाश्रमका सञ्चालक मिन अर्यालले बावु किरणले सानो उमेरमा वालवालिकाका बिचमा जन्मदिन मनाउनु अनुसरणयोग्य कार्य भएको बताए । उनले घरमै आएर वालवालिकालाई सामाग्री वितरण गर्ने सकारात्मक कार्यको प्रशंसा गरे । बासका निर्वतमान अध्यक्ष मन भण्डारीले सञ्चालन गरेको सामाग्री वितरण कार्यक्रममा बासका कार्यक्रम संयोजक रबिन्द्र बोहरा, लेखा अधिकृत अनिल थापा मगर, कार्यक्रम अधिकृत शुद्ध चौधरीको उपस्थिती रहेको थियो ।

  • २९ पुष २०७७, बुधबार प्रकाशित

  • Nabintech