शमशेरगन्जमा सुविधा सम्पन्न होटल सञ्चालन

असल शासन प्रतिनिधि

नेपालगन्ज–बाँकेको शमशेरगन्जमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । ५ करोड रुपैयाँको लागतमा स्थानीय झुपलाल खत्रीले राइनो होटल एण्ड लज सञ्चालनमा ल्याएका हुन् । होटलको बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाह र राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले स‌युक्त रुपमा होटलको उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै अधिकृत शाहले राष्ट्रिय निकुञ्ज क्षेत्रमा सञ्चालनमा आएको सुविधा सम्पन्न होटल आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने बताए । राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकलाई होटल सञ्चालनले सहजता थपेको बताउँदै अधिकृत शाहले पर्यटक तान्न पनि होटल एक माध्यम हुने बताए ।

विवाह र पार्टी प्यालेससहितको होटल नहुँदा सानातिना कार्यक्रम गर्न पनि कोहलपुर या नेपालगन्ज धाउनु पर्ने बाध्यता रहेको औंल्याउँदै गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले स्थानीयलाई होटल सञ्चालनले सहजता ल्याएको बताइन् । होटल सञ्चालनमा आएपश्चात् स्थानीयले रोजगारी पाउनुका साथै समग्र यस क्षेत्रको विकास र पर्यटक भित्र्याउने माध्यम भएकाले गाउँपालिकाबाट हुने कार्यक्रमका लागि पहिलो प्राथमिकता नवसञ्चालित होटल दिने उनले बताइन् । होटलमा १२ वटा एटेज बाथरुमसहितको कोठा रहेको छ भने बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटक सफारीपछि बास बस्नका लागि अब कोहलपुर या नेपालगन्ज धाउनु पर्ने बाध्यता टरेको छ ।

 

  • १ माघ २०७७, बिहीबार प्रकाशित

  • Nabintech